निगमले घटायो पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य

नेपाल कलम
नेपाल कलम २५ पुष २०७९ सोमबार ०२:२७
1 Min Read
Aa

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। निगमले हवाई इन्धनको मूल्य भने उच्च दरले घटाएको छ। वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ।

हवाई इन्धनमा बढी नाफा राख्दा यात्रुले आन्तरिक र बाहृय उडानका लागि महँगो शुल्क तिर्नुपरेको थियो। हवाई इन्धनमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएपछि आइतबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो।

अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ। ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ। वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी मधुकुमार मरासिनीले सम्हाले लगत्तै आइतबारको बैठकले मूल्य घटाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्