विद्यार्थीको सारथी बन्यो हेटौंडा उपमहानगरपालिका

नेपाल कलम
नेपाल कलम १० श्रावण २०८० बुधबार २२:३७
7 Min Read
Aa

हेटौंडा- मकवानपुर बहुमुखी क्याम्पस विविए प्रथम बर्षमा अध्ययनरत साजिया हुसेनलाई क्याम्पसको शुल्क कसरी बुझाउने भन्ने ठुलो चिन्ता थियो । दश जोड दुई सकेपछि त्यसपछिको उच्चशिक्षा अध्ययन गर्न आर्थिक जोहो कसरी गर्ने होला ? भन्ने पिरले उनलाई सताउँथ्यो । जसोतसो भर्ना त गरिन् तर, अध्ययन गर्न मासिक शुल्क बुझाउने रकम नहुँदा उनलाई पढाई छुट्ने हो कि भन्ने ठुलो चिन्ता थियो । हेटौंडा उपमहानगरपालिकाले छात्रबृत्ति वापत १५ हजार रुपैयाँ अध्ययनका लागि उपलब्ध गराएपछि अहिले उनी निश्चिन्त भएर अध्ययन गर्न थालेकी छिन् ।

उनको सारथी बनेको छ, उपहानगरपालिका ।त्यस्तै, मकवानपुर बहुमुखी क्याम्पस विविएस दोश्रो बर्ष अध्ययनरत सुजल विश्वकर्माको पनि पिर र चिन्ता उस्तै छ । आर्थिक अवस्था कमजोर भएकाले क्याम्पसको शुल्क बुझाउन हम्मेहम्मे परेको उनी पढाई नै छाड्नुपर्ने अवस्थामा पुगिसकेका थिए । उनलाई पनि छात्रवृत्ति वापत हेटौंडा उपमहानगरपालिकाले ८ हजार ८ सय रुपैयाँ उपलब्ध गराएपछि उनको तनाव घटेको छ । अब उनी ढुक्क भएर अध्ययन गर्न पाएकोमा खुसी छन् । उनले शिक्षाका लागि नगरपालिकाले गरेको सहयोगले आफ्नो जीवनमा ठुलो खुसी मिलेको र पढ्न पाउने अधिकार सुनिश्ति भएको बताउँछन् ।

अध्ययन गर्ने इच्छा हुँदाहुँदै पनि रोकिएको शिक्षा अगाडि बढाउन उपमहानगरपालिकाको छात्रबृत्तिले सहयोग गरेको हेटौंडा क्याम्पसमा अध्ययनरत रियाज कार्कीले बताए । नगरपालिकाले दिएको सहयोगका कारण अध्ययन गर्ने कार्य निरन्तरता दिन सकेको उनको भनाई छ । छात्रबृत्ति उपलब्ध गराएर हेटौंडा उपमहानगरपालिकाले गरेको कार्यप्रति उनले धन्यवाद दिए ।

हेटौंडा–१६ मा रहेको जनप्रिय माविका प्रध्यानाध्यापक भूपेन्द्र चौलागाईले उपमहानगरपालिकाबाट दिइएको छात्रबृत्तिका कारण विद्यार्थीहरुमा उत्साह थपिएको बताए । छात्रबृत्ति प्राप्त भएपछि विद्यालय आउँने विद्यार्थीको संख्या बढेको बताए । त्यस्तै हेटौंडा–१४ जनज्योति माविका प्रध्यानाध्यापक भोगेन्द्र लुइटेलले छात्रबृत्तिका कारण बालबिवाह न्यूनीकरण भएको बताए । हेटौंडा–१२ का रुपेश तिवारीले छात्रबृत्ति पाउँदा नियमित पढ्न सकेको बताए । आर्थिक अवस्था कमजोर रहेका तिवारी अध्ययन गर्न, क्याम्पसमा तिर्ने शुल्क नहुँदा विदेश जाने सोचमा थिए ।

उपमहानगरले आर्थिक सहयोग गरेपछि उनले आफ्नो अध्ययनलाई निरन्तरता दिए । अहिले उनी नियमित क्याम्पस जाने गरेका छन् । अध्ययन गर्नका लागि पाएको सहयोगले उनलाई थप उर्जा र हौसला थपेको बताए । अब म नेपालमै केही गर्छु, उनले भने म जस्तै पैसा नभएर पढ्न नसकेकालाई भविष्यमा जागिर खाएर पैसा कमाएपछि सकेको सहयोग गर्ने मनसाय पनि उनले बनाएका छन् ।

मकवानपुर बहुमुखी क्याम्पसको कक्षा ११ मा अध्ययन गर्ने हेटौंडा ७ की सगुन रुम्बाको पनि कथाव्यथा उस्तै छ ।क्याम्पस खर्च जुटाउन विहान वेलुका ज्याला गरेर अध्ययन गर्नुपर्ने बाध्यताबाट गु्रजिएकी उनी नगरपालिकाबाट आर्थिक सहायता पाएपछि निकै राहत महसुस भएको बताउँछिन् । त्यस्तै हेटौंडा उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयमा कानून अनुसारको छात्रबृति बितरणको काममा कडाइ गर्न सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले यही असार २० गतेसम्म छात्रबृति दिएका विद्यार्थीको पूर्णविवरण र अभिभाबकको मोवाइल नम्बर सहित उपमहानगरपालिकामा बुझाउनका लागि सूचना जारी गरेको छ ।

उपमहानगरपालिकाभित्र रहेका निजी विद्यालयले छात्रबृतिमा विद्यार्थी नपढाउने गरेको गुनासो गरेपछि हेटौंडा उपमहानगरपालिकाले यही असार २० गतेसम्म छात्रबृति दिएका विद्यार्थीको विवरण बुझाउनका लागि आग्रह गरिएको शिक्षा विकास महासाखाप्रमुख गंगाधर रिमालले बताए । हेटौंडाका बोडिङहरुमा एक सयदेखि २ हजार जनासम्म विद्यार्थी अध्यनरत छन् । अब विद्यालयले विवरण बुझाएपछि नियमितरुपमा अनुगमन गर्ने र विद्यार्थीले पाउने छात्रबृति बितरणमा कडाइ गरिने रिमालले बताए । निजी विद्यालयले अनिवार्य तथा निशुल्क शिक्षासम्वन्धी ऐन २०७५ अनुसार विद्यार्थीलाई छात्रबृति रकम वितरण गर्नुपर्ने छ ।

५ सय जनासम्म विद्यार्थी भएका बोडिङमा १० प्रतिशत पूर्ण छात्रबृत्तिमा पढाउनुपर्ने व्यवस्था रहेको छ । ५ सय भन्दा माथी ८ सय जना विद्यार्थी अध्ययनरत विद्यालयले १२ प्रतिशत विद्यार्थीलाई पूर्णछात्रबृत्ति दिनुपर्ने छ । त्यसैगरी ८ सय जना भन्दा माथी विद्यार्थी अध्यनरत भएका विद्यालयले १५ प्रतिशत विद्यार्थीलाई पूर्णरुपमा छात्रबृति दिनुपर्ने कानूनी व्यवस्था रहेको छ । तर, हेटौंडाका धेरैजसो निजी विद्यालयले पूर्णछात्रबृति दिनमा वेवास्ता गर्दै आएका छन् । अहिले भने उपमहानगरपालिकाले यसलाई कार्यान्वयनमा ल्याउनका लागि ताकेता गर्न थालेको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आर्थिक अभावका कारण कोही पनि शिक्षाबाट बञ्चित हुन नदिने बताइन् । उनले शिक्षा सबै नगरवासीको अधिकार भएकाले आर्थिक अभावकै कारण विद्यालय र क्याम्पस छाड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै नगरपालिकाले प्रत्येक बर्ष छात्रबृत्ति बितरण गर्दै आएको बताइन् । उनले नगरमा रहेका गरिव तथा जेहेन्दार विद्यार्थीका लागि नगरले आर्थिक सहायता दिएको बताइन् ।

अधिंकाश छात्रछात्रा विदेश जाने र सानै उमेरमा विवाह गर्ने परिपार्टीले नकारात्मक सन्देश गएको भन्दै नगरले छात्रबृत्ति उपलब्ध गराएको बताइन् । उनले शिक्षा नै पहिलो आधार भएकाले नगरको विकास गर्न पहिलो प्राथमिकतामा शिक्षालाई राखेर काम गरेको र पढ्न नसक्नेलाई नगरपालिकाले आर्थिक सहायता उपलब्ध गराउँदै आएको बताइन् ।
प्राविधिक शिक्षाप्रतिको आकर्षणलाई मध्यनजर गर्दै उच्चशिक्षामा समेत लगानी गरी प्राविधिक जनशक्ति उत्पादन हेटौंडामै गर्ने गरी प्राविधिक महाविद्यालयको अवधारणा अनुरुप भुटनदेवी इन्जिनियरिङ कलेको स्थापना गर्न प्रक्रिया अगाडि बढाएको बताइन् । उनले हेटौंडा शिक्षाको हव बन्दै गएकाले शिक्षामैत्री बनाउने अभियानमा निरन्तर लागि रहेको बताइन् । हेटौंडाका सामुदायिक तथा संस्थागत विद्यालयमा ४० प्रतिशत विद्यार्थी छिमेकी जिल्लाका रहेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ तथा हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाबाट प्राप्त शैक्षिक तथ्याङ्क २०७९ अनुसार मकवानपुर जिल्लामा सामुदायिकतर्फ ५११ र संस्थागततर्फ ७३ विद्यालय गरी जम्मा ५८४ रहेकोमा छ । उपमहानगरभित्र सामुदायिक ९० र संस्थागततर्फ ४७ गरी कूल १३७ विद्यालय सञ्चालनमा रहेका छन् । जिल्लामा कक्षा १२ सम्म अध्ययन गर्ने जम्मा १,१८,७२९ छात्रछात्रारहेकोमा नगरभित्रका विद्यालयमा ५०,३७४ छात्रछात्रा अध्ययनरत छन् । यसरी हेर्दा विद्यालय शिक्षामा जिल्लाको कुल विद्यार्थीको ४३ प्रतिशत हिस्सा नगरका विद्यालयले ओगटेको अवस्था छ ।

शैक्षिक हव बन्दै गएको हेटौंडामा बारा, पर्सा, रौतहटका विद्यार्थी पनि अध्ययन गर्न आउने गरेका छन् । तराईका जिल्लाका अभिभावकको पहिलो रोजाईमा अहिले हेटौंडाका विद्यालय परेका छन । सुन्दर र हरित नगरी हेटौंडामा अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्रमा पनि पर्याप्त सम्भावनाहरू छन् । हेटौंडा उपमहानगरले शिक्षा विकासमा निर्वाह गरेको अभिभावकत्व भूमिकाले यहाँ अध्ययन गर्ने विद्यार्थीको भबिष्य उज्वल हुनेमा दुईमत छैन ।

शिक्षाको विकासका लागि हेटौंडा उपमहानगरपालिकाले विद्यार्थी भर्ना अभियान संचालनगरेको थियो । कुनैपनि बालबालिका शिक्षाबाट बाहिर नरहुन भनेर उपमहानगरले शिक्षालाई बिशेष जोड दिएको छ । विद्यालयसँग जोड्नका लागि नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका, गरिव, विपन्न र जेहन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेर विद्यालय नियमित बनाउन सक्दो प्रयास गरिरहेको छ । उपमहानगरले संचालन गरेको छात्रबृत्ति कार्यक्रमले विद्यार्थी वर्गलाई निकै लाभ मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्