
हेटौंडा\ बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अभियान सुरु गरेको तीन दिनमा १३ हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाएको छ ।
यसअघि बिहीवारबाट मन्त्रालयले खोप अभियान सुरु गरेको थियो । ५० हजार पशुलाई खोप लगाउने लक्ष्य लिएको मन्त्रालयले शनिवारसम्म १३ हजार पशुमा खोप लगाएर लम्पी स्किन संक्रमणको रोकथाम र नियन्त्रणमा प्रयास गरिरहेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । आइतबार लगाइएको खोपको तथ्यांक भने सोमबार मात्रै प्राप्त हुने मन्त्रालयले जानाएको छ ।

खोप अभियान अन्तर्गत बिहीवार, शुक्रबार र शनिवार तीन दिनमा १३ हजार ५ सय १६ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो ।
‘आइतबारको तथ्यांक प्रदेशको जिल्लाहरुबाट प्राप्त हुन बाँकी नै छ । शनिवारसम्म १३ हजार भन्दा बढी पशुमा खोप लगाइसक्यौं ।,’ अधिकारीले भने । अभियानको पहिलो दिन ४ हजार ४ सय ६७ लाई खोप लगाइएको थियो । दोस्रो दिन ४ हजार ६ सय ९४ पशुलाई र तेस्रो दिन ४ हजार ३ सय ३३ पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारीले बताए ।
उक्त अभियानअन्तरगत पछिल्लो तीन दिनमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको छ । त्यहाँ २ हजार ४ सय ८८ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारीले बताए ।
यसैगरी, मकवानपुरका २ हजार ४४, काभ्रेका १ हजार ५ सय २२, सिन्धुलीका १ हजार १९८, धादिङका १ हजार ५५, काठमाडौंका १ हजार ४२, नुवाकोटका ९९८,
रामेछमपका ९८२, सिन्धुपाल्चोक ८५६, रसुवा ५८३, भक्तपुर ५५४, ललितपुरका १७ र दोलखाका ८३ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको हो ।
अभियान आगामी साउन ३२ गतेसम्म संचालन हुनेछ । एकपटक खोप लगाईएको गाई÷भैंसी वा चौरीलाई एकवर्षसम्म लम्पी स्किन रोगविरुद्ध काम गर्छ । यो खोप बिरामी पशुलाई लगाउन नहुने र स्वस्थ्य पशुमा मात्रै लगाइने पशु स्वास्थकर्मीले जनाएका छन् ।
हाल प्रदेशको सबै जिल्लामा गरी २ लाख ४ हजार ९८८ पशु लम्पी स्किनबाट प्रभावित छन् । जसमा १ लाख १० हजार ४४० पशु सक्रिय संक्रमित छन् । हालसम्म ६ हजार २९१ वटा पशुको मृत्यु भइसकेको छ । प्रकोप फैलिएसँगै १ लाख ३२ हजार ९ सय पशुलाई खोप लगाइसकिएको छ । यो खोप लगाबापत किसानले पैसा तिर्नु पर्दैन । यो खोप लगाइएपछि गाई भैंसी वा चौंरीलाई एक वर्षसम्म एन्टिभाइरसको रुपमा काम गर्ने मन्त्रालयका पशुविकास अधिकृत निशान्त शर्माले बताए ।
लम्पी स्किन संक्रमणका कारण सामन्यतया १० देखि २० प्रतिशत पशुहरु बिरामी हुने र करिब ५ प्रतिशतसम्म मृत्युदर देखिन सक्ने उनले बताए । खास उपचार नभएको र लम्पी स्किनको कारण धेरै संख्यामा गाई÷भैसी प्रभावित भई दूध उत्पादनमा ८० प्रतिशतसम्म कमी आएको मन्त्रालयले जनाएको छ । लम्पी स्कीन विरुद्धको खोप अभियानमार्फत प्रदेश भरी लम्पी स्किन न्यूनीकरणका लागि जनचेतना फैलाउने काम पनि सँगै गरिने मन्त्रालयका सचिव शरणकुमार पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्