मकवानपुरगढीमा धमाधम काेदाे राेपाई

नेपाल कलम
नेपाल कलम २९ श्रावण २०८० सोमबार २२:०९
2 Min Read
Aa

हेटौंडा\ वर्षेझरी ढिला भएपछि मकवानपुरगढीमा यस बर्षको कोदो रोपाई पनि ढिलैगरी शुरु भएको छ । कोदोको पकेट क्षेत्र मानिएको गाउँपालिकाको वडा नं. ४ कालीखाेला क्षेत्रमा काेदाेकाे राेपाई शुरूवात भएको हो । कृषकहरूले मकै भाँचे पश्चात जग्गा तयारी गर्दै काेदाे राेपिरहेका छन ।

स्थानीय कृषक कुमारी लामाले गत वर्ष १० कठ्ठामा काेदाे राेपेकाेमा त्यहाँबाट ६ क्वीन्टल उत्पादन भएकाेमा घरमै प्रयोग भइ बचेको साढे चार क्वीन्टल कोदो बिक्री गरेकाे बताउनुभयो । उहाँले यस वर्ष पनि १० कठ्ठामा नै काेदाे राेपिरहनु भएको छ ।

त्यसैगरि अर्का कृषक झिल्लीप्रसाद दुलालले पनि गत वर्ष १० कठ्ठा जग्गामा काेदाे लगाएकाेमा ५ क्वीन्टल उत्पादन भएकाे र जसमध्ये ३ क्वीन्टल काेदाे नजिकै रहेकाे अपाङ तथा विपन्न कृषि सहकारी संस्थामा बिक्री गरेकाे उहाँको भनाई रहेकोे छ । यसवर्ष पनि त्यति नै जग्गामा कोदो रोपाइ गर्ने उहाँको योजना छ ।

कृषक सुकुम बहादुर घलानले यो वर्ष १ बिघा १० कठ्ठा जग्गामा काेदाे लगाउने याेजना बनाउनु भएकोमा करिब ८ कठ्ठामा राेपिसकेकाे र बाँकी जग्गामा राेप्ने तयारी भइरहेकाे उहाँले जानकारी दिनुभयाे ।

यस भेगका अधिकांश कृषकहरूले मकैबाली पछि काेदाे खेती गर्दै आइरहेका छन । यस क्षेत्रका कृषकहरूले उत्पादन गरेकाे काेदाे अपाङ तथा विपन्न कृषि सहकारी संस्थाले विगत ३ वर्ष देखि गाउँपालिकाले ताेकेकाे मूल्यमा खरिद गर्दै आइरहेको छ ।

कृषकहरुबाट खरिद गरि संकलन, भण्डारण गरेका कोदो सहकारी संस्थाले कालीखाेला ब्रान्डको काेदाे पिठाे प्याकेजिङ गरि बजारमा ल्याएको छ । त्यसका लागि मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाले सहयाेग गरेको शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

अहिले पनि सहकारी संस्थामा करिब ४ मेट्रीकटन काेदाे स्टकमा रहेकाे सहकारीका अध्यक्ष दिल बहादुर याेञ्जनले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्