एमसीसी अन्तर्गत प्रसारण लाइन बनाउन मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया शुरु

नेपाल कलम
नेपाल कलम १ भाद्र २०८० शुक्रबार ०७:५८
2 Min Read
Aa

काठमाण्डौ /अमेरिकी अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको छ । चार सय केभी विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौँडा सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया शुरु गरिएको हो । थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौँडा उप-महानगरपालिकामा पर्ने जग्गा स्थायी रूपमा अधिग्रहण गर्ने गरी सूचना प्रकाशित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सार्वजनिक सूचना मार्फत् थाहा नगरपालिका वडा नम्बर ८, कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६, राक्सिराङ गाउँपालिका-१ र हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ३ र १९ मा जग्गा अधिग्रहण प्रक्रिया शुरु गरेको जनाएको छ । सूचना प्रकाशित भएको मितिदेखि २१ दिनभित्र सरोकारवाला व्यक्तिले अधिग्रहण हुने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा, बालीनालीलगायतका अन्य संरचना भए ती समेतको मुआब्जा तथा क्षतिपूर्तिको दाबीसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन सक्नेछन् । साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

सूचना प्रकाशित भएको मितिदेखि नै अधिग्रहण गरिने जग्गाहरू रोक्का रहने छन् । ती क्षेत्रमा कुनै पनि संरचना थप्ने कार्य नगर्न/नगराउन पनि सूचित गरिएको छ । तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेको खण्डमा कानुन अनुसार हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्