
हेटौंडा/ बागमती प्रदेशमा एक साताको अवधिमा ४८ हजारभन्दा बढी पशुलाई लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको साताव्यापी खोप अभियानअन्तरगत प्रदेशमा ४८ हजार ३६४ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो ।
मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत गत साउन २५ गतेदेखि साउन ३२ गतेसम्म खोप अभियान संचालन गर्ने भनिएपनि प्राकृतिक विपद्का कारण एकदिन थप गरेर भदौ १ गतेसम्म संचालन गरिएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारी जानकारी दिए ।

सो अवधिमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको छ । त्यहाँ १० हजार २१९ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको हो । यसैगरी, दोलखाको ५४९, काठमाडौंका २ हजार ४३९, भक्तपुरका ९२१, ललितपुरका १ हजार ५८०, धादिङका ४ हजार ३०१, सिन्धुलीका २ हजार ५७८, रामेछापका २ हजार ३३५, सिन्धुपाल्चोकका ३ हजार २७४, मकवानपुरका ६ हजार ८२२, काभ्रेका ८ हजार ४११, नुवाकोटका ३ हजार ५९७ र रसुवाका एक हजार ३३८ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको अधिकारीले बताए ।
प्रदेशमा हालसम्म लम्पी स्कीन रोगबाट ६ हजार २९१ पशुको मृत्यु भइसेको छ भने १ लाख १० हजार ४४० पशु संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्