
हेटौंडा/जिल्ला अदालत मकवानपुरमा दर्ता भएका कुल ३ हजार बढी मुद्धामा सम्बन्धविच्छेदका मुद्धा मात्रै करिब १ हजार वटा रहेका छन् । जिल्ला अदालत मकवानपुरमा आर्थिक वर्ष २०७९र८० मा ३ हजार ३ सय ५७ मुद्दा दर्ता भएका थिए । तीमध्ये २८।५० प्रतिशत अर्थात ९ सय ७५ वटा सम्बन्धविच्छेदका रहेको स्रेस्तेदार लेखनाथ पौडेलले बताए ।
सम्बन्धविच्छेदका लागि आएका अधिकांश महिला पति एव घरपरिवारको हिंसा सहन नसकेको निवेदनमा देखिन्छ । स्रेस्तेदार पौडेलका अनुसार बालविवाह पनि क्रमशः सम्बन्धविच्छेदमा परिणत हुन थालेको छ । २१-२२ वर्षका युवतीहरु २-३ वटा बच्चा लिएर सम्बन्धविच्छेदका लागि अदालतमा आउने गरेका छन् । ‘उनीहरुको विवाह १५-१६ वर्षको उमेर भएको देखिन्छ,’ स्रेस्तेदार लेखनाथ पौडेलले भने, ‘सम्बन्धविच्छेदका लागि अदालतमा दर्ता भएका यस्ता मुद्दा प्रशस्तै छन् ।’

मुलुकमा नयाँ संहिता कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ। जसले गर्दा सम्बन्धविच्छेदको मुद्दा अदालतमा ह्वात्तै बढेको अधिवक्ता मदन दाहाल बताउँछन् । ‘अदालतमा दर्ता भएका मुद्दामध्ये झण्डै २९ प्रतिशत सम्बन्धविच्छेदको छ,’ उनले भने ।
नयाँ संहितामा महिलासरह पुरुषहरु पनि सम्बन्धविच्छेदका लागि अदालत जान सक्ने कानुनी व्यवस्था गरिएको छ । नयाँ संहिता लागू भएपछि मकवानपुरमा सम्बन्धविच्छेद गर्न कानुनी उपचार खोज्दै अदालत पुग्ने पुरुषको संख्या पनि बढेको छ । अदालतका अनुसार आव ०७८र७९ मा दर्ता भएका ८ सय ५९ थान सम्बन्धविच्छेदका मुद्दामध्ये ३ सय २ वटा मुद्दा पत्नीसँग सम्बन्धविच्छेद गरि पाउँ भनेर पुरुषले मुद्दा दर्ता गराएका थिए । अहिले त्यो संख्या बढेर ३ सय ३३ पुगेको छ । नयाँ संहिता कार्यान्वयन नआउँदासम्म पुरुषले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दर्ता गराउने व्यवस्था थिएन ।
जिल्ला अदालत मकवानपुरमा दर्ता भएका सम्बन्धविच्छेदका अदालतमा परेका मुद्दामध्ये ७ सय ६८ वटाको फैसला भइसकेको छ । २ सय ७ वटा फैसला हुन बाँकी छ । ‘महिलाले सम्बन्धविच्छेदको निम्ति अदालतमा दिएको उजुरीमा मेलमिलापमार्फत पुरुषको पनि छिट्टै सहमति हुने भएकाले फैसला चाँडै हुने गरेको छ,’ स्रेस्तेदार पौडेलले भने, ‘पुरुषले दिएको उजुरीमा महिलाको सहमति नभएकाले फैसला हुन समय लाग्ने गरेको छ ।’
मेलमिलापमार्फत सहमति हुन नसकेमा सम्बन्धविच्छेदको मुद्दा फैसला गर्न कम्तिमा एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ । पतिपत्नीबीच सम्बन्धविच्छेद नहोस् मिलेर बसुन् भन्ने उद्देश्यले एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था गरिएको हो ।
नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा महिलाका लागि भएका व्यवस्था पुरुषका लागि पनि राखिएका छन् । यसपछि पत्नीसरह पतिले पनि सम्बन्धविच्छेद गर्न सक्ने भएका हुन् । लगातार तीन वर्ष बेखबर बाहिर बसेमा, अंगभंग हुने गरी कुटपिट गरेमा, शारीरिक र मानसिक हिंसा गरेमा पत्नीविरुद्ध पति अदालत जान सक्छन् । पत्नीले अरू कुनै परपुरुषसित यौन सम्बन्ध राखेको अवस्थामा पनि सम्बन्धविच्छेद हुन सक्छ । ‘समानताका नाममा कानुनले पुरुषको सम्बन्धविच्छेद खुकुलो बनाएको छ,’ अधिवक्ता दाहालले भने, ‘यसले सम्बन्धविच्छेद गर्न चाहने पुरुषहरुको संख्या अदालतमा बढेको छ ।
’स्वतन्त्र हुने नाममा ससाना मनमुटावमा पनि दम्पतीको सम्बन्धविच्छेद हुने क्रम बढेको छ । विवाह भएको वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने युवा जोडी पनि छन् । गत आवमा जिल्ला अदालत मकवानपुरमा विवाहको वर्ष दिन नपुग्दै ४ जोडीले सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका थिए । गत आव जिल्ला अदालतमा ६० वर्ष पार गरिसकेका ४ वृद्धले पनि पत्निसँग सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्