
हेटौँडा/ संघीय सरकारको मातहत प्रहरी संगठन रहे पनि वाग्मती प्रदेश सरकारले प्रहरी संगठनको क्षमता वृद्धि गर्न ४९ वटा प्रहरी इकाईको भवन निर्माण सम्पन्न गरेको छ ।
तीबाहेक नै १८ वटा भवन निर्माणाधीन अवस्थामा छन् भने ५ वटा भवन निर्माण गर्न ठेक्काको प्रक्रियामा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए । ४८ वटा प्रहरी चौकी वा इलाका प्रहरी कार्यालयका भवन उद्घाटन गरेर सञ्चालनमा आइसकेका छन् । हेटौंडा उपमहानगरपालिका-१८ स्थित ठूलो दमार प्रहरी चौकीको बुधबार एक समारोहबीच वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलले उद्घाटन गरेका थिए ।

उक्त प्रहरी चौकी भवनसहित वाग्मती प्रदेश सरकारले आव ०७५/०७६ देखि आव ०७९/०८० सम्म १० जिल्लामा ४९ वटा भवन निर्माण गरिसकेको छ । करिब ५ कठ्ठा जमिनमा निर्माण गरिएको ठूलो दमार प्रहरी चौकी भवन बनाउन २ करोड ३५ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयअन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । मन्त्रालयले प्रदेश सरकार गठनपश्चात पहिलो चरणमा एक अर्ब ६६ करोड ९९ लाख १२ हजार ९७७ हजार रुपैयाँ लागतमा प्रहरी भवन निर्माण गरेको छ भने दोस्रो चरणमा ७३ करोड ५८ लाख पाँच हजार ९९२ रुपैयाँ खर्च हुने जनाएको छ ।
प्रदेश सरकारले मकवानपुरमा नौ, चितवनमा पाँच, सिन्धुलीमा सात, रामेछापमा चार, दोलखामा चार, नुवाकोटमा तीन, काभ्रेमा आठ, धादिङमा तीन, रसुवामा चार, सिन्धुपाल्चोकमा तीनवटा भवन निर्माण गरिसकेको छ । मकवानपुरमा सशस्त्र प्रहरी गण नं. ३ रातोमाटे, प्रहरी चौकी कान्द्राङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी रातोमाटे, इलाका प्रहरी कार्यालय ठिङ्गन, प्रहरी चौकी डााडाखर्क, प्रहरी चौकी हात्तीसुढे, प्रहरी चौकी ठुलोदमार निर्माण गसिसकेको छ । चितवनमा प्रहरी चौकी चैनपुर, प्रहरी चौकी सीताराम चोक, प्रहरी चौकी सुमेसरमाडी, प्रहरी चौकी कल्याणपुर माडी र प्रहरी चौकी पञ्चकन्याको भवन निर्माण सम्पन्न भइसकेको छ ।
संघीय सरकार मातहत रहेको प्रहरी संगठनलाई सवल, सक्षम सुरक्षित एवं प्रविधिमैत्री बनाउन प्रहरी भवन अर्थात् भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले झन्डै २ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । प्रदेश सरकारले प्रहरी चौकीका भवन बनाउन मात्र नभई सवारी साधनहरू पनि उपलब्ध गराएको छ । अब छिट्टै नै संघीय सरकारले प्रहरी संगठन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले बताए । वाग्मती प्रदेशले प्रदेश प्रहरी ऐन, २०७७ जारी गरिसकेको छ । संविधानको धारा २६८ को उपधारा २ मा ‘प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन हुनेछ’ भनिएको छ । उपधारा ३ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने उल्लेख गरिएको छ ।
प्रहरी अस्पताल बन्दै
हेटौँडा उपमहानगरपालिका-१७ को डिपो चौरमा प्रहरी अस्पताल बनिरहेको छ । उक्त अस्पताल निर्माण गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ रकम विनियोजनसमेत गरिसकिएको छ । उक्त अस्पतालमा सर्वसाधारणले पनि सेवा पाउनेछन् ।
यसैगरी आन्तरिक मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा चार जिल्लाका पाँच स्थानमा ६ करोड ४४ लाख ६५ हजार लागतमा पाँचवटा प्रहरी भवन निर्माण गर्ने लक्ष्य राखेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कार्कीका अनुसार चितवन, सिन्धुली, रामेछाप र मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा प्रहरी भवन निर्माण हुनेछ । आव २०७९/८० मा १९ वटा प्रहरी इकाई भवन मर्मतका लागि प्रदेश सरकारले एक करोड ७० लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । मकवानपुरमा ६, सिन्धुली र काभ्रेमा तीन-तीन, धादिङमा दुई र चितवन, दोलखा, सिन्धुपाल्चोक र रसुवामा एक-एक प्रहरी एकाइ भवन मर्मत गर्न उक्त खर्च लागेको मन्त्रालयले जनाएको छ । इकान्तिपुरबाट ।

प्रतिक्रिया दिनुहोस्