एक वर्षको अवधिमा मकवानपुरमा ३२ जना शिशुको गर्भमै मृत्यु

नेपाल कलम
नेपाल कलम ८ भाद्र २०८० शुक्रबार ०८:४०
4 Min Read
Aa

हेटौंडा/गर्भवती आमा र बच्चाको मृत्युदर घटाउन सरकारले लामो समयदेखि विभिन्न अभियान सञ्चालन गरे पनि मृत्युदर घटेको छैन । गर्भवती तथा सुत्केरी आमा र शिशुको मृत्यु शून्यमा झार्न सरकारले प्रभावकारी काम गर्न नसक्दा मृत्युदरमा कमी आउन सकेको छैन ।
त्यसैगरि गर्भवतीहरू स्वास्थ्य संस्थामा सुरक्षित तरिकाले सुत्केरी नहुनु, नियमित गर्भ परीक्षण नगराउनु, खानपानमा ध्यान नदिनु, कलिलै उमेरमा विवाह गरेर बच्चा जन्माउनुजस्ता कारणले पनि मृत्युदर घट्न नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा गएका ५ आवमा १ सय ५९ शिशुले गर्भमै ज्यान गुमाएका छन् । यसैगरि जन्मिएको २८ दिनभित्र ८२ शिशु र ७ दिनभित्र ५ शिशुको मृत्यु भएको छ । तीमध्ये अधिकांशको मृत्यु घरमै भएको कार्यालयले जनाएको छ । ५ वर्षमा मकवानपुरका ८ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका छन् ।

कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले दिएको जानकारीअनुसार आव ०७५/७६ मा ३ जना शिशुले स्वास्थ्य संस्थामा ज्यान गुमाउँदा १९ शिशुको मृत्यु समुदायमा नै भएको छ । यसैगरि २३ जना शिशुको जन्मनुअघि गर्भमै र प्रसूतिका क्रममा मृत्यु भएको छ भने २ जना गर्भवतीको समुदाय र स्वास्थ्य संस्थामा ज्यान गएको छ । आव ०७६/७७ मा २१ नवजात शिशुले समुदायमा नै ज्यान गुमाएका छन् भने ४३ जनाको गर्भमा नै मृत्यु भएको छ । त्यसैगरि चालू आवमा ४ जना महिलाको गर्भावस्थामा मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

आव ०७७/७८ मा ३५ शिशुको गर्भमा नै मृत्यु भएको, २ नवजात शिशुको स्वास्थ्य संस्थामा र २२ जनाको समुदायमा नै मृत्यु भएको घिमिरेले जानकारी दिए । उनले चालू आवमा एक गर्भवतीले समुदायमा नै ज्यान गुमाएको जानकारी दिए । घिमिरेका अनुसार चालू आव ०७८/७९ को हालसम्म पनि २६ शिशुको गर्भमै, २ जनाको स्वास्थ्य संस्थामा र १३ जना शिशुको समुदायमा नै मृत्यु भएको छ भने मातृ मृत्युदर शून्य छ ।

त्यसैगरी गत आव ०७९/८० मा ३२ शिशुको गर्भमा नै मृत्यु भएको छ भने जन्मेको ७ दिनमा ५ जना शिशुले ज्यान गुमाएका छन् । जिल्ल स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्यांक अनुसार गत आवमा १ जना सुत्केरी महिलाले ज्यान गुमाएको छन् ।
५ वर्षको तथ्यांक हेर्दा मकवानपुरमा मातृ मृत्युदर घटेको देखिए पनि नवजात शिशुको र गर्भमै मृत्यु हुने शिशुको संख्यामा कमी भएको छैन । सरकारले मातृ-शिशु मृत्युदर शून्यमा झार्ने भन्दै बर्सेनि लाखौं रूपैयाँ खर्चिँदै आएको छ । तर, अझै पनि जनचेतना र स्वास्थ्य उपचारको अभावमा गर्भवती, सुत्केरी र नवजात शिशुले ज्यान गुमाइरहेका छन् । देश संघीयतामा गएपछि आएका स्थानीय तहले प्रत्येक वडामा स्वास्थ्य चौकी खोलेका छन्, बर्थिङ सेन्टर सञ्चालन गरेका छन् । तर, त्यसको प्रभावकारिता भने खासै देखिएको छैन ।
बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरमा देखिएको शिशु मृत्युदरको तथ्यांकले प्रदेशका अन्य विकट जिल्लाको अवस्था कस्तो होला भनेर सहजै अनुमान गर्न सकिन्छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेका अनुसार मकवानपुरमा उपचार र हेरचाह अभावमा आमा र शिशुको मृत्यु भइरहेको छ ।

‘मकवानपुरको हेटौंडालाई हेरेर हुँदैन । विकट गाउँपालिकाको कुनातिर हेर्ने हो भने जनचेतनाको कमी छ । अझै महिलाहरू घरमा नै सुत्केरी भइरहेका छन्’, उनले भने, ‘नियमित परीक्षण, पोषणयुक्त खाना, हेरचाह र उपचार नहुँदा मृत्युदर घट्न सकेको छैन ।’ उनले जन्मिएको ४२ दिनसम्म सुत्केरी र बच्चाका लागि जोखिमपूणर् हुने भएपनि आवश्यक हेरचाह नपुग्दा जन्मिएपछि ज्यान गुमाउने नवजात शिशुको संख्या नघटेको बताए ।
‘सानै उमेरमा विवाह गर्दा र नियमित परीक्षण नगराउँदा पेटमै मृत्यु हुने शिशुको संख्यामा पनि अत्यधिक छ । यसलाई न्यूनीकरण गर्न हामीले जति प्रयास गरे पनि सकिरहेका छैनौँ’, उनले भने । घिमिरेका अनुसार सरकारले मातृ-शिशु मृत्युदर शून्यमा झार्ने भने पनि त्यसअनुरुप जनचेतनामूलक कार्यक्रम हुन सकेका छैनन् । स्थानीय तहले गरिरहेको काम पनि प्रभावकारी हुन नसकिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्