बागमतीका प्रदेशप्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंको भैँसेपाटीमा आवास

नेपाल कलम
नेपाल कलम ११ भाद्र २०८० सोमबार १३:०७
2 Min Read
Aa


हेटौंडा/ बागमती प्रदेशका प्रदेशप्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा आवाससहितको सम्पर्क कार्यालय तयार भएको छ ।
ललितपुरको भैंसेपाटीमा प्रदेशप्रमुख यादवचन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्पर्क कार्यालय सञ्चालन गर्न सक्नेछन् । अब प्रशासनिक कार्यहरु गर्न काठमाडौंबाटै सहज भएको छ । यद्यपि, प्रदेशप्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौंमा आवाससहितको सम्पर्क कार्यालय दिने सरकारको योजना विगतमै विवादमा आएको थियो । प्राकृतिक विपतिमा परेकादेखि पानी छेक्ने छानो हाल्न नागरिकले नसकेको अवस्थामा प्रदेशप्रमुख र मुख्यमन्त्रीलाई आवास दिनु ठीक नभएको भन्दै आलोचना सुरु भइसकेको छ ।

बागमतीका प्रदेशप्रमुख शर्मा र मुख्मयन्त्री जम्मकट्टेललाई हेटौंडामा आवासको सुविधा छ । बागमतिसहित सातै प्रदेशका मुख्यमन्त्री र प्रदेशप्रमुखको आवासको निर्माण पूरा भएर आइतबार हस्तान्तरण गरिएको छ । ठेक्का भएको चार वर्षमा आवास निर्माण सम्पन्न भएको हो । हाल अपार्टमेन्टमा बस्दै आएका मुख्यमन्त्री र प्रदेशप्रमुख अब भैंसीपाटी आवासमा बस्ने भएका छन् । विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख आयोजना निर्देशक मचाकाजी महर्जनले सोमबारबाट मुख्यमन्त्री र प्रदेश प्रमुखहरु सरकारी आवासमा सर्ने बताए ।

पहिले उनीहरुको बासस्थानको व्यवस्थापन संघीय सरकारले गर्दै आएको थियो । भवन बनाएर मुख्यमन्त्री र प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएकाले अब बासस्थानको व्यवस्थापन सम्बन्धित प्रदेशहरुले नै हेर्ने सहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीप परियारले बताए । आवाससँगै सुरक्षा भवन, इन्टेरियरलगायत सबैको काम सकिएर आवास हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ । भैँसेपाटीमा २७ रोपनी १२ आना क्षेत्रमा निर्माण गरिएका ७ वटा भवनमा १४ वटा ब्लक छन् ।

प्रतिक्रिया दिनुहोस्