मकवानपुरका यौनिक तथा लैंगिक अल्पसंख्यकको पीडा

नेपाल कलम
नेपाल कलम १९ भाद्र २०८० मंगलवार ०७:३५
5 Min Read
Aa

´राज्य अधिकार दिँदैन, न रोजगारी नै, सडकमा नआए कहाँ जानू ?’

हेटौंडा- मकवानपुरका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले राज्य नै मौलिक हकअधिकार कुण्ठित गर्न लागेको आरोप लगाएका छन् ।महिला, पुरुष वा पहिचानको आधारमा आ–आफ्नो अधिकार पाउने मुलुकमा अल्पसंख्यकहरुले किन अधिकार माग्दा पनि नपाएको भन्दै उनीहरुले दुःखेसो पोखेका छन् । हेटौंडामा आइतबार १० नम्बर वडा कार्यालयको सहकार्य र जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा उपकेन्द्र, हेटौंडा–१० को आयोजना भएको अल्पसंख्यकसँग प्रहरी कार्यक्रममा उनीहरुले राज्य नै अधिकार कुण्ठित गर्न लागेको आरोप लगाएका हुन् । १० नम्बर वडाका जनप्रतिनिधि र प्रहरी अधिकारीले अल्पसंख्यकहरुको गुनासो सुनेका थिए ।

अल्पसंख्यकहरुले अधिकार पनि नदिने, जीविकोपार्जनका लागि कुनै अबसर पनि नदिने तर, यौनजन्य क्रियाकलापमा लागेको भनेर संधै हेलाको दृष्टिले हेर्नु न्यायपूर्ण नभएको गुनासो गरेका छन् । पहिचानको आधारमा अबसरका लागि कोटा नै व्यवस्था हुँदा मुलुकभित्रकै एउटा समुदायलाई भने नागरिक बनाउन समेत मुस्किल रहेको उनीहरुको दुःखेसो थियो । मकवानपुरको अल्पसंख्यक समुदायमा अगुवाको भूमिकामा देखिएकी फ्रेन्ड्स हेटौंडाकी कार्यक्रम संयोजक किरण थापाले अल्पसंख्यकलाई जीवन चलाउन सडकमै आउनुपर्ने बाध्यता सरकार र यही समुदायले गरेको भन्दै आक्रोशित बनिन् ।

अल्पसंख्यकको अधिकारका लागि विगत १४ वर्षदेखि मकवानपुरमा संघर्षरत् थापाले विगतमा सामाजिक विकास मन्त्रालयमा अबसर खोज्न जाँदा यस समुदायका ४ जनालाई विभेदकारी व्यवहार गरेको घटनाक्रम सुनाएकी थिइन् । ‘सामाजिक विकास मन्त्रालयले कर्मचारी माग्दा हाम्रो समुदायबाट ४ जना जानु भएको थियो । अन्तर्वार्ताको दिन उहाँहरु जाँदा भोलि छ भनेछन् । भोलि जाँदा अघिल्लो दिन नै भइसक्यो भनेर विभेद गरिएको थियो । यस्तो समाजमा अल्पसंख्यकहरुले सडकमा नगए कसरी बाँच्न सक्छन् ।’, थापाले आक्रोश पोखिन् । उनले महिला र पुरुषले लिएको अधिकार र अबसर अल्पसंख्यकले पनि पाउनुपर्ने बताइन् ।

अल्पसंख्यकले पहिचानको लडाई लडेको भन्दै आगामी दिनमा सफल हुनेमा विश्वस्त रहेको सुनाइन् । ‘महिला अधिकारको विषय १०० वर्ष अघिदेखि उठाउँदै आएकोमा अझै अधिकार नपाएको गुनासो छ । हामीले भर्खरै २० वर्ष भयो अधिकार माग्न थालेको । हामी अझै अधिकार मागिरहेका छौं ।’, थापाले भनिन् । उनले यौनजन्य क्रियाकलापमा अल्पसंख्यकलाई मात्र दोषि देखिएको भन्दै यौन व्यवसायमा महिला र पुरुष पनि रहेको बताइन् । ‘त्यो सडकमा हाम्रो समुदायलाई मात्रै किन देखिन्छ । त्यहाँ महिला र पुरुष पनि हुन्छन् । उनीहरुलाई कसैले देख्दैन । त्यही पुरुषहरु दिउँसो अल्पसंख्यकलाई आरोप लगाउँछन्, उनीहरु रात परेपछि सडकमा खोज्दै आउँछन् ।’, थापाले आक्रोशित हुँदै भनिन् ।

अल्पसंख्यकलाई सडकमा आउन रहर नभएको र बाध्यतामा पारिएको उनको दाबी छ । अल्पसंख्यक समुदायलाई हरेक अबसरमा बञ्चित गरेपछि सडकमा आउन बाध्य पारेको उनको भनाई छ । ‘अल्पसंख्यकहरु पनि बाँच्न त प¥यो नि । हेला र विभेदले कुनै अबसर पाईंदैन । सडकमा नआए कहाँ जाउन ? अधिकार, रोजगारीको सुनिश्चित हुनुपर्छ ।’, उनले भनिन्, ‘अबसरमा कोटा प्रणाली हुँदा हाम्रो समुदाय चाहिँ त्यसमा किन अटाउन सकेन् । यो सरकारकै विभेदहैन ?’, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्दामा राजनीतिक दलहरु सधैँ अनुदार देखिएको उनको गुनासो छ ।

अल्पसंख्यक समुदायकी जुली चेपाङले अहिलेसम्म नागरिक नपाएको भन्दै गुनासो गरिन् । अल्पसंख्यक समुदायमा खुलेको १० वर्ष बढी भइसकेको बताउँदै उनले सडकमा जान सरकारले बाध्य पारेको बताउँछिन् । अल्पसंख्यक देख्ने बित्तिक्कै प्रहरीले गलत दृष्टिकोणले हेरिहाल्ने परिपार्टीले कतै उम्भिनसमेत नसक्ने अवस्था रहेको चेपाङको गुनासो छ । हेटौंडामा एकदिन सडक छेउमा मोबाइल चलाएर बस्दा जिल्ला प्रहरी कार्यालयले थुन्ने धम्की दिने गरेको आरोप लगाउँदै अल्पसंख्यकलाई घरभित्र वा सडकमा पनि बस्न नसक्ने अवस्था बनेको दुःखेसो गरिन् । ‘दिउँस हामीलाई समाज बिगा¥यो भन्नेले रातको समयमा उसैले लुट्छ । यस्तो समाजले कहिले अधिकार र अबसर दिन्छ ? हामी सडकमा नआए कहाँ जाने त ?’, उनले भनिन् ।

अल्पसंख्यक समुदायकै वर्षा मगरले नागरिकता पनि बनाउन नसकेको र सवारीचालक अनुमतिपत्र (लाइसेन्स नहुँदा) सवारी साधन सञ्चालनमा कठिनाई भइरहेको बताए । ‘नागरिकता पनि बनाउन नसक्ने, लाइसेन्स पनि बन्दैन । हामीले सवारीसाधन पनि चलाउन नपाउने ? ट्राफिक प्रहरीले हाम्रो समस्या पनि बुझ्दिनुपर्छ ।’, मगरले भने । छलफल कार्यक्रममा प्रहरी निरीक्षक दाताराम अधिकारीले सरकारी तथा गैरसरकारी निकायबाट अल्पसंख्यकहरुको समस्या समाधान हुने बताए । ‘उनीहरु आर्थिक उपार्जनको लागि आफ्नो स्वास्थ्यमाथि खेलवाड गरिरहेका छन् ।’, अधिकारीले भने ‘सरोकारवाला निकायले अल्पसंख्यकको समस्या समाधान हुने भएको अल्पसंख्यकले गलत काम गर्दिन र सभ्य समाज निर्माण गर्न प्रतिबद्धता गर्नुपर्छ ।’,

१० नम्बर वडाध्यक्ष फुर्वादोर्जे लामाले मुलुकको विद्यमान समस्या बेरोजगारी भएको बताए । अल्पसंख्यकहरु पछिल्लो समय खुलेकाले समाजलाई उनीहरुको समस्या थाहा हुँदै आएको र अझै खुल्नुपर्ने बताए । समाजमा जति खुल्न सक्यो त्यति नै अल्पसंख्यकलाई सहज हुने उनको दाबी छ । समस्यासँग नजिक भएपछि समाधानको बाटो पहिल्याउन सक्ने उनले बताए । कार्यक्रममा सहभागीहरुले अल्पसंख्यकको समस्या गोष्ठी, अन्तरक्रियामा मात्रै सीमित भइरहेको र नीतिगत रुपमै समाधानको बाटो खोजिनुपर्नेमा जोड दिएका थिए । सामुदायिक प्रहरी सेवा उपकेन्द्रका अध्यक्ष प्रदीप कँडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्