
हेटौंडा/मकवानपुरकाे विकट राक्सिराङ गाउँपालिकाले उपभाेक्ता समितिमार्फत गरिने याेजना कार्यान्वयनलाई व्यवस्थित र झन्झटरहित बनाउन स्पष्ट कार्ययाेजना र कार्य ढाँचा तयार गरेकाे छ । गाउँपालिकाले तय गरेकाे कार्य ढाँचाअनुसार याेजना कार्यान्वयन गर्दा उपभाेक्ता समितिलाई हुने झन्झटकाे अन्त्य हुनुका साथै कर्मचारी र जनप्रतिनिधिलाई पनि काममा सहज हुने विश्वास गरिएकाे छ ।
राक्सिराङले गाउँपालिका तह र वडा तहमार्फत उपभाेक्ता समितिबाट गर्ने याेजनाकाे वर्गीकरण गरेकाे छ भने ठेक्कामार्फत गर्ने याेजनाकाे पनि वर्गीकरण गर्दै याेजना कार्यान्वयनकाे कार्ययाेजना तयार गरेकाे छ । स्वीकृत कार्ययोजनाअनुसार राक्सिराङले चालु आर्थिक वर्षका योजना कार्यान्वयन गराउन आगामी मंसिर मसान्तसम्ममा सबै योजनाहरुको सम्झौता गरिसक्नेछ । साथै ४५ लाखसम्मका योजना उपभोक्तामार्फत र सोभन्दा माथिका योजनाको ठेक्का प्रक्रियाबाट काम गरिनेछ । ८ लाखसम्मको योजना वडा कार्यालयबाटै सम्झौता र कार्यान्वयन गर्नेगरी कार्ययोजना बनाइएको र आगामी चैत मसान्तभित्र गाउँपालिकाको सबै योजनाहरु सम्पन्न गरिसकिने गरी कार्ययाेजना लागु गरिएकाे गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

उपभाेक्ता समितिमार्फत काम गर्दा चाहिने आवश्यक कागजात जुटाउने झन्झटकाे पनि अन्त्य हुने भएकाे छ । उपभाेक्ता समिति गठनदेखि भुक्तानीसम्मका सबै कागजातकाे फाराम समेटिएकाे किताब नै तयार गरी गाउँपालिकाले वडा कार्यालयमार्फत वितरण सुरु गर्दैछ । उपभाेक्ता समिति गठन, निवेदन, विविध कागजातकाे नमूना फारामदेखि वडा कार्यालयबाट गरिने सिफारिसकाे नमूनासहितकाे किताब उपभाेक्ता समितिले प्राप्त गर्नेछन् । साेही किताबमा उल्लेख भएकाे नमुना फाराम भरी उपभाेक्ता समितिले गाउँपालिकासँग सम्झाैता गर्न जान सक्नेछन् । सम्झाैता भएपछि साे समितिलाई अर्काे नमूना फारामसहितकाे किताब उपलब्ध गराइनेछ । साेही किताबमा उल्लेख भएबमाेजिमकाे फाराम भर्ने र उल्लेखित कागजात पूरा गरेर गाउँपालिकामा पेश गरेपछि अन्तिम भुक्तानी हुने व्यवस्था गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैलाले बताए । साे किताबमा डाेर हाजिरीकाे फारामदेखि प्राविधिक र वडा कार्यालयले गर्ने सिफारिस फारामसमेत उल्लेख रहेकाे उनले बताए । कार्ययाेजनाअनुसार काम गर्न उपभाेक्ता समितिलाई प्रशिक्षण दिइने गर्ताैलाले सुनाए ।
गाउँपालिकाले साेमबार गत आर्थिक वर्षमा गरेकाे कामहरुकाे समीक्षाका साथै वडाध्यक्षहरुलाई वार्षिक बजेट, नीति तथा कार्यक्रम पुस्तिका, स्थानीय राजपत्रमा प्रमाशित वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिका, उपभाेक्ता समितिबाट कार्यान्वयन गरिने याेजनाकाे पुस्तिका हस्तान्तरण गरी चालू आवकाे याेजना कार्यान्वयन सुरु भएकाे बताएकाे छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष वनस्तम थिङले वार्षिक कार्ययाेजनालाई पूर्ण कार्यान्वयन गरि काम गर्न कर्मचारी र वडाध्यक्षहरुलाई सूचित गरे ।

प्रतिक्रिया दिनुहोस्