समयमै उपचार नपाउदा कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै मकवानपुरका ५ वर्षिय बालिकाको मृत्यु

नेपाल कलम
नेपाल कलम २० भाद्र २०८० बुधबार ०८:०५
3 Min Read
Aa

निरन्तरको बान्ता र ज्वरोले थलिएकी पाँच वर्षीया रेजिशालाई उपचारका लागि इमर्जेन्सीमा ल्याएका आमा र हजुरबुबालाई अस्पतालका कर्मचारीले डाक्टरकहाँ पठाउनुकोे सट्टा टिकट काटेर पालो कुर्न अह्राए । बिरामीको गम्भीरता बुझिदिन उनीहरूले हारगुहार गरिरहे, तर कसैले सुनेन । उपचारको पर्खाइमा दुई घन्टासम्म संघर्ष गरिरहेकी अबोध बालिकाले अन्ततः हजुरबुबाको काखमै तड्पिँदै प्राण त्यागिन् ।

गम्भीर अवस्थाका बिरामी पुग्नेबित्तिकै उपचार सुरु गर्ने र उच्च निगरानीमा राख्ने ठाउँ हो, अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्ष । तर, बालबालिकाका लागि देशकै विशिष्टीकृत मानिएको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घन्टासम्म छटपटाउँदा पनि उपचार नपाएर एक बालिकाको ज्यान गएको छ । उच्च ज्वरो र निरन्तरको बान्ताले शिथिल बनेकी बालिकालाई हजुरबा र आमाले तत्काल उपचार गरिदिन पटक–पटक अनुनय गर्दा पनि इमर्जेन्सी विभागका कर्मचारीले पालोमा कुराउँदा अप्रिय घटना भएको हो ।

काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ५:०० बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्‍याएका थिए । इमर्जेन्सीमा बिरामीको भिड थियो । कृष्णबहादुरले नातिनीको अवस्था जटिल बन्दै गएकाले तत्काल उपचारको व्यवस्था मिलाइदिन इमर्जेन्सी कक्षमा खटिने सेक्युरिटी गार्डलाई बिन्ती गरे । त्यहाँ डाक्टरबाहेक व्यवस्थापन मिलाउने सेक्युरिटी नै थिए ।परिवारका लागि अपूरणीय क्षति हो । आमा रिताको कोख रित्तिएको छ । छोरीलाई राम्रो शिक्षा दिएर उनको सुन्दर भविष्य कोर्न एक वर्षदेखि परदेश (पोर्चुगल)मा पसिना बगाउँदै गरेका बुबा जितबहादुरको सपनाले हार खाएको छ ।

तर, अस्पताल प्रशासन भने उल्टै शोकसन्तप्त परिवारमाथि दोष देखाएर मृत्युलाई सामान्यीकरण गर्न उद्यत् छ । कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय उपचार नपाउँदा बालिकाको ज्यान गएको स्विकार्छन्, तर आफन्तले बिरामीको अवस्थाबारे बुझाउन नसकेको दाबी गर्छन् । ‘अस्पताल पुग्दा पनि उपचार नपाएर बालिकाको ज्यान जानु राम्रो होइन । तर, बिरामीका आफन्तले बालिकाको अवस्थाबारे सेक्युरिटी गार्डलाई राम्ररी भन्नुभएको रहेनछ, त्यसकारण यस्तो घटना हुन पुग्यो,’ उनले भने, ‘बिरामीको भिड धेरै हुने भएकाले पनि पुग्दाबित्तिकै सेवा लिन कठिन छ ।’

अस्पतालको लापरबाहीले बालिकाको ज्यान गएपछि आफन्तले सोमबार नै सिसिटिभी फुटेज हेर्न अस्पताल प्रशासनलाई आग्रह गरेका थिए । कृष्णबहादुरले घटनाको जिम्मा अस्पताल प्रशासनले लिनुपन, दोषीमाथि कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । मृतकका आफन्तले सोमबार राति र मंगलबार बिहान अस्पताल परिसरमा आन्दोलन पनि गरेका छन् ।

बालिकाको मृत्युपछि नियम सुधारको घोषणा
पालो कुर्दाकुर्दै उपचार नपाएर बालिका रेजिशाको मृत्यु भएपछि कान्ति बाल अस्पताल प्रशासनले इमर्जेन्सी कक्षको नियम सुधारको घोषणा गरेको छ । पालोमा बस्दा गाह्रो भएका बिरामीलाई पहिले पालो दिने गरी नियम सुधारिएको निर्देशक रायले बताए । त्यस्तै, पालो पर्खिनुपर्ने बिरामीलाई पनि पर्खाइकै क्रममा निगरानी गर्न इमर्जेन्सी विभागलाई निर्देशन दिएको उनको भनाइ छ । ‘अब इमर्जेन्सीमा आएर गाह्रो भएका बिरामीले पालो कुर्नुपर्दैन, हामीले मंगलबारदेखि नै नियम सुधारेका छौँ,’ रायले भने । नयाँपत्रीका बाट

प्रतिक्रिया दिनुहोस्