प्रधानमन्त्री प्रचण्डको दाबी– मेरो सुशासनको अभियानबाट प्रतिगामी तर्सिए

नेपाल कलम
नेपाल कलम २४ भाद्र २०८० आईतवार १७:०३
3 Min Read
Aa

हेटौंडा/प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सुशानसनको अभियानबाट प्रतिगामी तर्सिएको दाबी गरेका छन् ।
आइतबार हेटौंडामा आयोजित समाजवादी मोर्चा नेपाल वाग्मती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा उनले सरकारले अहिले सुशासनको लागि भ्रष्टाचार, अनियमितताको अन्त्य गर्ने अभियान सुरू गरेको बताउँदै उनले आफ्नो अभियानबाट केही प्रतिगामी तर्सिएको जिकिर गरे ।
‘प्रधानमन्त्रीले राम्रो काम गर्न खोज्दा अदालतमा मुद्दा हाल्ने काम भयो । यस्ता खाले समस्या समाधान गर्न सरकार डटेर लाग्छ’, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह समेत गरेका छन् । उनले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरे ।
सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उनको भनाइ छ। सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान सुरु गरेपछि चौतर्फी आक्रमण सुरु भएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
सरकार जनताको गणतन्त्र बनाउन चाहने दलहरुको एकता, बुर्जुवा र प्रतिक्रियावादीको शक्तिलाई हाबी हुन नदिन महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ । समाजवादको आधार तयार पार्दै जनताको गणतन्त्र बनाउने अभियानमा लागिरहेको कारण पनि यो मुद्दामा एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ ।
पूर्वप्रधामन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कमजोरीलाई स्वीकार गर्दै दृढ भएर जनताका लागि काम गर्नुपर्नेमा जोड दिए । ‘हामी सबै एक भएर राजतन्त्र ढाल्यौँ, हाम्रो एकता आज अवस्था परिवर्तनका लागि तथा समाजवादको पक्ष र पुँजीवादको विरुद्धमा हो,’ उनले भने ।
अध्यक्ष नेपालले समानताको सिद्धान्त लागू गर्न र जनतालाई स्तरीय जीवन बाँच्न पाउने आधार तयार गर्नका लागि समाजवादी मोर्चाका दल एक भएर काम गर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग गर्ने स्पष्ट पारे । उनले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिए ।
समाजवादी फोरमका नेता शिवलाल थापा मगर पहिचानवादीका नाममा आन्दोलन गर्नेलाई झुटा मुद्दा लगाइएको बताउँदै तत्काल रिहाइको माग गरे ।
संविधानमा उल्लेख भएबमोजिम स्थानीय भाषामा पठनपाठन गरिनुपर्ने र सोतर्फ वर्तमान सरकार लागेकोमा उनले धन्यवाद दिए । उनले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै थप फाइल खोल्न पनि सुझाए ।

प्रतिक्रिया दिनुहोस्