
हेटौंडा /हेटौंडा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा बजार क्षेत्रको बाइपास सडक शुल्क उठाउन ठेक्का लागेको छ । हेटौंडा उपमहानगरपालिकाले ई–बिडिङमार्फतकाठमाडौंको सुदीपा ट्रेडिङ कम्पनी प्रालिको प्रस्तावलाई स्वीकृत गरी सम्झौता गरेको छ । सुदीपाले ४ करोड २८ लाख ८९ हजार रुपैयाँ सडक शुल्क उठाउने सम्झौता गरेको छ ।बाइपास सडक कर हेटौंडा उपमहानगरको प्रमुख आयस्रोतको रुपमा रहेको छ । चालु आर्थिक वर्षको ४८ दिन भने उपहानगरपालिकाले आफैँ सडक कर संकलन गरेको थियो । ४८ दिनमा उपमहानगरले ९० लाख रुपैयाँ कर संकलन गरेको छ । चालु आर्थिक वर्षमा उपमहानगरले बाइपास सडक करमा झण्डै दोब्बर वृद्धि गरेको छ ।
विदेशी टेलर÷लहरी १० चक्के वा सो भन्दा बढीको कर पाँच सय रुपैयाँबाट बढाएर एक हजार रुपैयाँ बनाइएको छ । विदेशी बस, ट्रक १० चक्के भन्दा कमका लागि तीन सय रुपैयाँबाट बढाएर छ सय रुपैयाँ बनाइएको छ । विदेशी मिनी बस, ट्रकका लागि एक सम ५० रुपैयाँबाट बढाएर तीन सय रुपैयाँ बनाइएको छ । विदेशी जीप, कारलाई एक सय रुपैयाँबाट बढाएर दुई सय रुपैयाँ बनाइएको छ । यस्तै स्वदेशी बस, ट्रक, मिनिबस तथा रात्रिेबसहरुका लागि २० रुपैयाँबाट बढाएर ३० रुपैयाँ बनाइएको छ ।

सुदीपा ट्रेडिङले अग्रिम भुक्तानीस्वरुप सम्झौता रकमको २५ प्रतिशत हुन आउने एक करोड ७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । बाँकी रकम तीन किस्तामा असोज मसान्त, पुस मसान्त र जेठ मसान्तमा भुक्तानी गर्ने सम्झौता भएको हेटौंडा उपमहानगरपालिकाको राजश्व शाखाका प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए ।यसअघि गत आर्थिक वर्षको ९ महिनामा मित्र निर्माण सेवाले एक करोड ३२ लाख ७७ हजार रुपैयाँमा सडक कर उठाउन सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्