नवयुवा सहकारीको शेयर सदस्य संख्या वृद्धि

नेपाल कलम
नेपाल कलम ३० भाद्र २०८० शनिबार २०:२८
3 Min Read
Aa

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारणसभा भएको छ ।
नवयुवा सहकारीको एक वर्षमै २७ प्रतिशतले शेयर पुँजीमा गिरावट आएको छ । आर्थिक मन्दीका कारण सहकारीको कारोबारमा पनि समस्या देखिएको हो । सहकारीको आर्थिक वर्ष २०७८÷०७९ मा ३ करोड ९७ लाख २० हजार २ सय शेयर पुँजी रहेको थियो । त्यसको एक वर्षमा अर्थात आव २०७९÷८० को असार मसान्तसम्म सहकारीको शेयर पुँजी २ करोड ८७ लाख १५ हजार ९ सय रुपैयाँमा खुम्चिएको अध्यक्ष फूलमान श्रेष्ठद्वारा प्रस्तुत प्रगति प्रतिवेदनमा उल्लेख छ । शेयर पुँजी २७ दशमलव ७० प्रतिशतले घटेको हो । शेयर सदस्य संख्या एक वर्षमा वृद्धि भएको देखिए पनि शेयर पुँजीमा पनि गिरावट आएको हो ।
आव २०७८÷७९ मा १ हजार ८ सय ६५ जना शेयर सदस्य रहेको सहकारीमा गत आव ७९÷८० मा २ हजार ३० जना पुगेका छन् । नवयुवा सहकारीको बचत तथा निक्षेप २१ करोड ८७ लाख ७८ हजार ८ सय ३८ रुपैयाँ रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आव ०७८÷७९ मा बचत तथा निक्षेप १८ करोड ८१ लाख २२ हजार ५ सय २८ रुपैयाँ थियो । कर्जा तथा सापट लगानीतर्फ सहकारीले गत आव ७९÷८० मा २० करोड ५२ लाख ३९ हजार ६ सय ९ रुपैयाँ खर्च गरेको छ । लगानीमा पनि सहकारीको १ दशमलव ३७ प्रतिशतले गिरावट आएको छ ।
सहकारीको स्थिर सम्पत्ति गत आव ७९÷८० मा ७६ लाख २५ हजार ८ सय ७६ र खुद मुनाफा ६२ लाख ७० हजार ४ सय ६३ रुपैयाँ रहेको छ । ११ नम्बर वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा विधागत रुपमा पुरस्कार दिइएको थियो । असल ऋणीमा दिपक बर्तौला, नियमित बचतमा रशिला राना, उत्कृष्ट बाल बचतमा प्रमिशा घिमिरे, एकल महिला बचतमा गोमा लामिछाने, ज्येष्ठ नागरिक बचतमा कृष्ण माया श्रेष्ठ, पेन्सन बचतमा डोलमाया गुनी, नवयुवा विशेष बचतमा अमरदीप मण्डल, दैनिक बचतमा बिमलकुमार बर्तौला र मोबाइल बैंकिङ सेवामा सवनम् श्रेष्ठ पुरस्कृत भएका छन् ।
छात्रवृति पुरस्कार तथा सम्मानतर्फ सहकारीले सामुदायिक विद्यालयबाट एसईईमा २ दशमलव ५ जिपिए ल्याउने इशा खड्का र संस्थागत विद्यालयबाट ३ दशमल ९० जिपिए ल्याउने रिभिजन हुमागाईंलाई सहकारीले पुरस्कृत तथा सम्मान गरेको हो । एमबिबिएस अध्ययन तथा सम्मानबाट अनुप धिताललाई सम्मान गरिएको र लेखापाल युवराज ढकाल सर्वोत्कृष्ट कर्मचारी घोषित गरिएको सहकारीका व्यवस्थापक नन्दलाल श्रेष्ठ (राजेश)ले जानकारी दिए । साधारणसभामा हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, सहकारीका संस्थापक अध्यक्ष गोकर्ण पराजुली, त्रिभुवन माविका अध्यक्ष दीपक उप्रेती, शहिद स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्यौपाने, ११ नम्बर वडाका वडा सदस्यहरु विकास नेपाल, सञ्जय बिडारी र गोपिनी सापकोटालगायतको आतिथ्यता थियो ।

प्रतिक्रिया दिनुहोस्