
हेटौंडा/ नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । भृकुटीमण्डपमा असोज ८ देखि ९ सम्म अधिवेशन चल्नेछ । अधिवेशनमा एक हजार ८० जना प्रतिनिधि सहभागी हुनेछन् । बागमती प्रदेश कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव समेत गरी २२० जनाको कमिटी बन्ने उपसचिव तथा प्रचार विभाग प्रमुख महेशकुमार बर्तौलाले जानकारी दिए ।
अधिवेशनको चहलपहलसँगै प्रदेशको नेतृत्वका आकांक्षीको दौडधुप सुरु भएको छ। अध्यक्षमा पाँच जना दाबी पेश गरेका छन्। आकांक्षीमध्ये दुई जनाको दौड रोचक छ। कारण हो –एमाले अध्यक्ष केपी शर्मा ओलीका दुई विश्वास पात्रले दुई उम्मेद्वारको पक्षमा गरेको दौडधुप। प्रदेश कमिटी अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल, काठमाडौंका सानुकुमार श्रेष्ठ, दोलखाकी रचना खड्का, चितवनका कृष्णभक्त पोखरेल र नुवाकोटका केशव पाण्डेको दौडधुप छ। पाण्डे वर्तमान पार्टी प्रदेश कमिटी अध्यक्ष हुन् ।

प्रदेश अध्यक्षमा पोलिटब्युरो सदस्यदेखि केन्द्रीय सदस्यहरूको चासो छ। सांसद भएर मन्त्री भइसकेका र हाल कुनै कार्यकारी पदमा नरहेका धेरैले अध्यक्षमा दाबी गरेका थिए । आकांक्षी धेरै भए पनि मकवानपुरका दाहाल, रामेछापका ढुंगेलबीच प्रतिस्पर्धा करिब निश्चित रहेको एमाले स्रोत बताउँछ। पोखरेलले अन्तिम समयमा दाहाललाई साथ दिने संकेत गरेसँगै दुईबीच प्रतिस्पर्धा हुने देखिएको हो।
विगतमा ओली पक्षमै रहेका दाहाल पछिल्लो समय ‘बालकोट’ले नरुचाएको सूचीमा पर्छन्। ढुंगेललाई भने ओलीले नै अघि सारेको एमालेका नेताहरु बताउँछन्। तर बागमती प्रदेशका पूर्वसभामुख श्रेष्ठले पनि दाबेदारी भने छाडेका छैनन् ।
महेश र गोकुलका दुई उम्मेद्वार
एमाले अध्यक्ष ओलीका निकटका पात्र मानिएका दुई जनाले प्रदेश कमिटी अध्यक्षमा दुई पात्र बोकेर दौडधुप थालेका छन्। स्रोतहरुका अनुसार नेता महेश बस्नेत र गोकुल बाँस्कोटाले क्रमशः ढुंगेल र दाहाललाई अघि सारेका छन् । अध्यक्ष निकट मानिएका दुई नेताहरुले दुई उम्मेद्वार बोकेपछि चुनावी परिणाम रोचक हुन सक्ने एमाले नेताहरुको बुझाइ छ। बागमतीमा यसअघि एमालेका तत्कालीन नेता माधव समूह बलियो अवस्थामा थियो। ती नेताहरु निर्णायक बन्न सक्ने नेताहरु बताउँछन् । अध्यक्षमा दाबी गरिरहेका दाहाल केन्द्रीय सदस्य हुन्। उनी संसदीय राजनीतिका पनि अनुभवीका रुपमा चिनिन्छन् । २०४८ सालयता दाहाल निरन्तर निर्वाचित जनप्रतिनिधि हुन्। ४ मंसिर २०७९ मा भएको निर्वाचनमा भने उनी उम्मेदवार बनेनन् ।
रामेछापका ढुंगेल यसअघि वाग्मती प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री थिए। वाम गठबन्धनबाट ०७४ मा प्रदेश सभामा निर्वाचित भएका उनी मन्त्री बनेका थिए। प्रतिनिधि सभामा भने तीन पटक उम्मेद्वार बने पनि ढुंगलले जित निकाल्न सकेका छैनन्। ढुंगेल ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिध सभा सदस्य निर्वाचनमा कांग्रेसका पूर्णबहादुर तामाङसँग १६ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए। ढुंगेल रामेछापका पूर्वजिविस सभापति पनि हुन् ।
चुनाव हुन नदिने रणनीतिमा ओली
एमालेको लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुटगत प्रतिस्पर्धा भएपछि वाग्मतीमा गुटगत प्रतिस्पर्धा रोक्ने प्रयास भएको छ। प्रदेश अधिवेशनमा अध्यक्ष ओली गुटगत प्रतिस्पर्धा गर्न दिन नहुने पक्षमा उभिएको नेताहरु बताउँछन्। पार्टीभित्र दुई समूह बनेर हुने प्रतिस्पर्धालाई रोक्ने गरी नेताहरूसँग छलफल सुरु गरेको एमाले स्रोत बताउँछ। अहिले ओली सानु श्रेष्ठ वा कैलाश ढुंगेलमध्ये एक जनालाई अध्यक्ष बनाउने प्रयासमा छन्।
एमाले स्रोतका अनुसार नेकपाकालमा यी दुई नेताले ओलीको पक्षमा अडान लिएकै कारण उनी त्यसको गुन तिर्ने पक्षमा छन्। त्यतिबेला सानु श्रेष्ठ वाग्मती प्रदेशको सभामुख थिए। नेकपाको ओली इतरको समूहमा बहुमत सांसद हुँदाहुँदै सभामुख श्रेष्ठले प्रदेश सभाको बैठक नडाकेर ओली समूह बचाउ गरेको आरोप समेत खेपेका थिएर त्यतिबेला इतर समूहबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीको दाबीमा थिइन्।
त्यतिबेला आर्थिक मामिलामन्त्री रहेका ढुंगेलले पनि इतर समूहको रणनीति फेल गराउन लागेका थिए। वाग्मती प्रदेश जोगाउन र ओलीको समूहलाई संरक्षित गर्न बलियो भूमिका दुबै नेताले गरेका थिए। त्यसै कारण, अहिले ओली यी दुईमध्ये एकलाई अध्यक्ष बनाउन चाहिरहेको बताइन्छ। ओलीले श्रेष्ठ वा ढुंगेललाई सर्वसम्मत बनाउन प्रयास थालेपछि दाहाल र चितवनका नेता पोखरेलले चुनावमा जानेगरी तयारी थालेका थिए। दुईमध्ये एक अध्यक्षमा प्रतिस्पर्धा गर्ने उनीहरुको रणनीतिका कारण अधिवेशन चुनावसम्म जाने सम्भावन अधिक रहेको एमाले नेताहरु बताउँछन्।
एमाले नेताहरूका अनुसार ओलीले अहिले आफ्ना पक्षका नेतालाई सर्वसम्मत बनाउन वरिष्ठ उापध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललागयतका नेताहरूसँग छलफल गरेका छन्। वाग्मती प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेहरूको भूमिका पनि प्रभावशाली हुन्छ। एमालेभित्र १० बुँदे समूह भनेर चिनिने यी नेताहरूले कित्ता क्लियर गरिसकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्