
हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राहदानी विभाग काठमाडौंबाट बनेर आएका थुप्रै राहदानी थन्किएर बसेको छ । मकवानपुरबासीले सन २०१२ देखि बनाउन दिएको राहदानी हालसम्म पनि प्रशासन कार्यालयमै थन्किएको पाइएको हो । जिल्लाका १० वटै स्थानीय तहका बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा आएर राहदानी बनाउन आवेदन दिने व्यवस्था छ । जसअनुसार यसअघि राहदानी बनाउन दिएर हालसम्म पनि लिन नआउनेहरुको संख्या बढ्दो क्रममा छ ।
राहदानी बनाउन आवश्यक आवेदन दिएका सेवाग्राहीले बनेर आएका राहदानी लिन नआएको राहदानी शाखाका प्रशासकीय अधिकृत आशाबहादुर थिङलामाले जानकारी दिए ।‘हामीकहाँ केही थान २०१२ देखिकै राहदानी छन् तर, सेवाग्राही लिनै आउँदैनन् ।’ लामाले भने, ‘१ सय ६३ थान राहदानी बनेर आइपुगेको छ । सम्बन्धित व्यक्तिले कार्यालयमा आएर लैजान आग्रह गर्दछु ।’,
प्रशासनमा इ–पासपोर्ट पनि धेरै समयदेखि सेवाग्राही लिन नआएको उनको भनाई छ । कार्यालयले सन् २०२१ देखि इ–पासपोर्ट वितरण सुरु गरेको थियो । ई–पासपोर्ट आर्थिक वर्ष २०७९÷८०मा मात्रै २१ हजार ६ सय वितरण गरिएको लामाले बताए । सेवाग्राहीले राष्ट्रिय परिचयपत्र समेत लिन नआएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्