
हेटौंडा/नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षसहित अन्य पदका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ । प्रदेश अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । सोमबारबाट सुरु भएको अधिवेशनमा अध्यक्षका लागि सर्वसम्मतको प्रयास भएको थियो । तर, नेताहरूबीच सहमति नभएपछि चुनावबाट नेतृत्व चयन गर्ने सहमति भएको थियो । बुधबार दिउँसो उम्मेदवारी दर्ता गरिएको थियो ।
अध्यक्षका लागि केशरबहादुर बुढाथोकी, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र कृष्णप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । अध्यक्षसँगै उपाध्यक्षमा पनि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उपाध्यक्षमा उम्मेदवारी परेको छ ।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राजकुमार अधिकारी उम्मेदवार बनेका हुन् । उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्