
हेटौंडा/नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । अध्यक्षमा ढुंगेलसँग प्रतिस्पर्धा गरेका कृष्णप्रसाद दाहाल २५७ मतले पराजित भए । ढुंगेल ६९६ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा दाहालले ४३९ मत पाए ।
अध्यक्षमा पराजित भएपछि दाहालले कार्यक्षेत्रमा भेट हुने प्रतिबद्धता जनाएका छन् । उनले प्रणालीमार्फत एमालेलाई बलियो बनाउने अभियानमा सफल भएको दाबीसमेत गरे । निर्वाचन परिणामपछि दाहालसँग गरिएको कुराकानीः
पार्टीको पहिलो प्रदेश अधिवेशनमा अध्यक्षमा पराजित हुनुभयो । कस्तो लागिरहेको छ ?

यो हाम्रो आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो । पार्टीमा विभिन्न कारणले समस्या उत्पन्न हुँदा यो अलिकति अवरुद्धको अवस्थामा थियो । त्यसलाई सुचारु बनाउने केही चुनौतीहरू थिए । ती चुनौतीहरूलाई पार गर्दै फेरि एउटा स्वस्थ लोकतान्त्रिक परम्परा, जुन हाम्रो असल परम्परा हो, त्योचाहिँ स्थापित भएको रूपमा लिएको छु मैले ।
बागमतीमा एमालेलाई कस्तो बनाउने योजनासहित निर्वाचनमा होमिनुभएको थियो ?
योजनाहरू धेरै नै थिए । यति मात्रै भन्न चाहन्छु कि बागमती प्रदेशमा पार्टीको काम खस्किएको अवस्था थियो । त्यो खस्किएको पार्टीको कामलाई अगाडि बढाउन हाम्रा सांगठनिक चुनौतीहरू थिए, पार्टी सदस्यहरूको सबलीकरण गर्नुपर्ने अर्को चुनौती थियो, ती सबल पार्टी सदस्यहरूलाई जनताको बीचमा पु¥याउनुपर्ने आवश्यकता थियो र आवश्यकता छ । तिनै सबै योजनासहित निर्वाचनको मैदानमा गएको थिएँ ।
सहमतिको धेरै प्रयासका बाबजुद तपाईं अध्यक्षमै लड्न किन अग्रसर हुनुभयो ?
अध्यक्षमा निर्वाचित हुनुभएका कैलाश ढुंगेल र म दुवै केन्द्रीय सदस्य हौँ । केन्द्रीय सदस्य भए पनि हाम्रो कार्यक्षेत्र सीमित नै हुन्छ । निकै मजबुत हुँदाहुँदै पनि गत चुनावमा हामी बागमती प्रदेशमा कमजोर भयौँ र तेस्रो स्थितिमा पुग्यौँ । यो चुनौतीलाई सामना गरेर बागमतीको कामलाई फेरि अगाडि बढाउन र हाम्रो विरासतलाई जोगाएर बागमतीमा एमालेलाई एक नम्बर पार्टी बनाउन म कस्सिएको थिएँ । ४ सय ३९ जनाभन्दा धेरै प्रतिनिधिहरूले मलाई भरोसा पनि गर्नुभयो ।
तर, विभिन्न कारणले गर्दा यसलाई सामान्य प्रक्रिया नै भनौँ भन्न त केही प्रश्नहरू पनि छन् मेरो मनमा, ती प्रश्नहरूको बिस्तारै उत्तरहरूको खोजी गर्दै जाऊँला । तर पनि कमसेकम प्रतिस्पर्धाको प्रणाली स्थापित भएको छ । यसले कार्यकर्ताको मनोबल उच्च बनेको छ । र, यसबाट पार्टी स्वस्थ प्रतिस्पर्धा हुँदा त्यस्तो केही समस्या त थिएन । केहीकेही समस्याहरू देखिए । ती समस्याहरू बिस्तारै हटाउँदै जानुपर्छ र एउटा निर्वाचनचाहिँ निर्वाचनजस्तो बनाउने जुन चुनौती छ, ती चुनौतीलाई पार गर्दै जानुपर्छ । यसले पार्टीलाई अरु मजबुत बनाउने कुरामा योगदान गर्छ भन्ने मलाई लाग्छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहमतिबाट अध्यक्ष चयन गर्ने योजनामा सहमत नभएकै कारण तपाईंलाई हराउन एउटा समूह नै परिचालित भएको कतिपयको आशंका छ, यो सत्य हो ?
अब यो कति सत्य हो कति होइन, म पनि खोजी गर्ने क्रममै छु । र, मलाई मतदान गर्नुहुने र नगर्नुहुने साथीहरूमा पनि यो कुरा केही आशंकाको रूपमा आएका छन् । केही जिम्मेवार नेताहरूबाट जुन स्वस्थ प्रतिस्पर्धाविपरीतका गतिविधिहरू भए, ती गतिविधिहरूलाई निगरानीमा पनि राखिएको छ । मैले अघि पनि भने प्रणालीमा सुधारको निम्ति एउटा कुरा हो ।
अर्को नेतृत्वमा पुगिसकेको हाम्रा केही पदाधिकारी तहका साथीहरूबाट समेत यस्ता स्वस्थ प्रतिस्पर्धा प्रतिकूलका जुन कुराहरू आएका छन् । त्यो नोटिसमा छ । म यति मात्रै अहिले भन्छु, जो यो निर्वाचनबाट जित्नुभयो, उहाँप्रति मेरो केही भन्नु छैन । मैले उहाँहरूलाई सफल कार्यकालको शुभकामना पनि दिइसकेको छु । म यही पार्टीको हितको निम्ति जहिले पनि रहनेछु । तर, निर्वाचन जसरी हुनुपर्ने थियो त्यसरी हुन नसकेकोमा मलाई मात्रै होइन, तमाम कार्यकर्तामा चिन्ता छ । त्यो चिन्ताको मैले उत्तरहरू खोज्नुपर्ने आवश्यकता छ ।
नवनिर्वाचित अध्यक्ष कैलाश ढुंगेललाई पार्टी अध्यक्षको गुटको नेता भन्ने चर्चा थियो, तपाईंचाहिँ कुन गुटको पर्नुभयो ?
हो, म त्यसकै उत्तरको खोजीमा छु ।
अध्यक्ष ओलीले किन सहमति मात्रै खोजिरहनुभएको छ ? पार्टीमा गुट जन्मिन्छ भन्ने चिन्ता हो ?
अध्यक्ष ओली कमरेडले नै भन्नुभयो भन्ने मलाई लाग्दैन । ओली कमरेडको नाममा अरु नै केही भइरहेको छ कि मैले यी समग्र कुराहरूको उत्तर खोज्नुपर्ने आवश्यकता जन्मिएको छ । यो अधिवेशनबाट असल पार्टी निर्माणको निम्ति ती समग्र उत्तरहरू चाहिन्छ, खोज्नुपर्छ र त्यो उत्तरपछाडि पार्टीलाई मजमुद बनाउने अभियानमा पनि लाग्नुपर्छ ।
अब कसरी अगाडि बढ्नुहुन्छ ?
प्रदेशमा पराजित भए पनि अझ धेरै जिम्मेवारीको महसुस गरेको छु । पार्टीभित्र उत्पन्न हुने यस्ता खालका समस्या समाधान गर्न मैले केही अनुभवहरू गरे । ती अनुभवहरूका आधारमा यो पार्टीलाई बलियो बनाउन मैले केही दायित्व महसुस गरेको छु । त्यो दायित्व पूरा गर्न सधैँ सकारात्मक ढंगले यो पार्टीलाई अगाडि बढाउन आफ्नो ठाउँमा क्रियाशील रहिरहनेछु ।
मतगणना सकिएपछि एमालेलाई प्रणालीमार्फत बलियो बनाउने अभियानमा सफलता मिलेको प्रतिक्रिया दिनुभएको थियो, के भन्न खोज्नुभएको ?
हामीले लोकतान्त्रिक जुन आन्तरिक प्रतिस्पर्धाको प्रणाली छ । त्यो प्रणाली हामीले स्थापित गर्दै सुरु त ग¥यौँ तर, त्यसलाई परिमार्जन गर्ने क्रमचाहिँ हाम्रो छैन । निर्वाचन प्रणालीलाई स्वस्थ लोकतान्त्रिक प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने कुरामा हाम्रो असल पराम्परा बसेको छैन । प्रणाली व्यक्तिमा केन्द्रित भएर जाने र नोमिनेटेड प्रणालीचाहिँ हामीकहाँ अलि देखिन्छ ।
सिस्टम बलियो बनाएर गएनौँ भने कुनै पनि पार्टीको भविष्य अप्ठ्यारोमा जान्छ । त्यसैले त्यो प्रणाली बलियो बनाउने कुरामा, विधि बनाउने कुरामा र विधि विश्वासनीय विधि निर्माण गर्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । पार्टीको ध्यान केन्द्रित हुनुपर्छ र महाधिवेशनहरूका ध्यान केन्द्रित हुनुपर्छ । हाम्रो वैधानिक व्यवस्था एकदमै विश्वासिलो भरपर्दो बनाउनका निम्ति यस्ता निर्वाचनहरू फलदायी हुन्छन् भन्ने विश्वासका आधारमा मैले त्यो कुरा भनेको हो ।

प्रतिक्रिया दिनुहोस्