
हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोला स्थित सिद्धकालीमा सुरु भएको दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजक जनसिद्ध युवा क्लवले विजय यात्रा सुरु गरेको छ । बिहीबारबाट सुरु भएको उद्घाटन खेलमा जनसिद्धको ए टिमले मोडर्न युवा क्लवलाई २–० गोल अन्तरले हराएको हो ।
जनसिद्धका लागि अभिषेक विक र समिन क्षेत्रीले गोल गरेका हुन् । आयोजक टिमका क्षेत्री नै खेलको म्यान अफ द म्याच भए । यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा क्लवको सहभागिता रहेको छ । मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

नकाउटको आधारमा सञ्चालन भएको खुला प्रतियोगितामा आयोजकसहित मोडर्न युवा क्लव, पदमपोखरी फुटबल एकेडेमी, जन आदर्श युवा क्लव, सूर्योदय युवा क्लव, कोशेली युथ क्लव, एफसी राप्ती चितवन, एफसी लामिटार, मनहरी २ खेलकुद विकास समिति, आरआर वाइसी पाल्दमार, मनहरी इसाइ समाज, बुद्ध एफसी च्यापल, मिलन युवा क्लव र परेली एफसीको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिहीबार मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले उद्घाटन गरेका हुन् । अध्यक्ष कालाखेतीले खेलकुदसहित पालिकाको सर्वाङ्गीण विकासका लागि आफूहरु लागिपरेको धारणा राखे । खेलाडीहरुलाई उनले अनुशासित भएर खेल्न अनुरोध गरे । यसअघि मनहरीको ९ नम्बर वडाले पनि वडा अध्यक्ष कप फुटबल गराइसकेको स्मरण गर्दै उनले खेल क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने बताए ।
आयोजक जनसिद्ध युवा क्लवका अध्यक्ष ईमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठ, १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, मनहरी ३ नम्बर वडा सदस्य हिराबहादुर प्रजा लगायतले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन समारोहमा ए डिभिजन खेलाडी आशिष मोक्तान र ज्येष्ठ नागरिक पूर्णबहादुर स्याङ्तानलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्