मुलुकको सुशासन र समृद्धिको लागि जागरण अभियानमा छौं ः माधव नेपाल

नेपाल कलम
नेपाल कलम १९ आश्विन २०८० शुक्रबार १३:५८
1 Min Read
Aa

हेटौंडा/नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्दै समृद्धितर्फ अघि बढ्न जागरण अभियान सञ्चालन गरिरहेको बताएका छन् । एकीकृत समाजवादी जागरण अभियान २०८० मेची–महाकाली यात्रा अन्तरगत शुक्रबार हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताको गुनासो प्रत्यक्ष सुन्ने र राज्यको निकायसम्म पुर्याएर समस्या समाधान गरिने बताए ।
देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढिरहेको र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति विभिन्न पार्टीमा हुर्किरहेको भन्दै यसको अन्त्य गर्न आवश्यक रहेको उनले बताए। उनले राष्ट्रिय पूँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको समेत उल्लेख गरे ।
उनले युवाहरुलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य लक्ष्य रहेको उल्लेख गरे । जनताको चाहना र भावनालाई सम्बोधन गरी सबैलाई साथमा लिएर एकताबद्ध बनाएर अगाडि बढ्दै जनतामा देशभक्तिको भावना जागृत गराउने, लोकतन्त्रको आवाज बुलन्द गर्ने, गणतन्त्र रक्षाका निम्ति लड्ने र संविधानलाई बलियो बनाउने आफ्नो पार्टीको रणनीति रहेको बताए ।
नेता नेपालले पार्टीका कार्यकर्तालाई जनताका घरघर गएर समस्या समाधानका लागि पहल गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्