
हेटौंडा/नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले नागरिकहरू स्वास्थ्य उपचार नपाएर मर्नु पर्ने अवस्था नआउने दाबी गरेका छन् । शनिबार हेटौँडामा पत्रकारहरूसँगको भेटघाटमा मन्त्री बस्नेतले सरकारले नागरिकहरूमा सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउने काम गरिरहेकाले उपचार अभावमा नागरिकहरूले मृत्यु वरण गर्नु नपर्ने बताएका हुन् ।
नागरिकहरूको उपचारमा सरकार गम्भीर रहेको र सोही अनुसार स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको उनले बताए । सरकारी र निजी दुवै स्वास्थ्य संस्थाहरूलाई नागरिकको उपचारका लागि सहज र सुलभ सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिइएको उनको भनाइ छ ।
‘कुनै पनि नागरिकले उपचार अभावमा मृत्यु वरण गर्नु पर्दैन । सरकारले नागरिकहरूको सहज सेवा प्रवाहका लागि निर्देशन दिइसकेको छ । सोही अनुसारको व्यवस्था मिलाउन सरकारी र निजी दुवै अस्पताललाई निर्देशन दिइएको छ ।’ उनले भने, ‘आर्थिक रूपमा विपन्न व्यक्तिहरूको उपचारका लागि सरकारले अस्पतालहरूमा १० प्रतिशत निःशुल्क उपचारको निर्णय कार्यान्वयन गरेको छ । सो निर्णय देशभरका अस्पतालमा लागु भएको छ । वडाको सिफारिसमा विपन्न नागरिकले सो सुविधा लिन सक्छन् । सो सुविधा लिन नसकेका विपन्न नागरिकको उपचार सरकारले गर्छ । सरकारले आफ्नै खर्चमा नागरिकको उपचार गर्छ त्यसको जिम्मा मैले लिएको छु ।’

मन्त्री बस्नेतले पछिल्लो समयमा चिकित्सक माथि भएका आक्रमणका घटनाका विषयमा सरकार र मन्त्रालय गम्भीर रहेको र त्यस्ता घटनामा संलग्नहरूलाई पक्राउ गरी कानुन अनुसार कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताए । चिकित्सक र स्वास्थ्यकर्मीहरू माथि भएका आक्रमणमा छानबिन गरी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।
विकट र दूर दराजका नागरिकहरूको स्वास्थ्य सेवामा सहज पहुँचका लागि सहर केन्द्रित रहेर बसेका डाक्टर तथा स्वास्थ्यकर्मीहरूलाई गाउँ गाउँ पठाएर सेवा प्रवाहको काम भइरहेको उनले बताए । सरकारले स्वास्थ्य क्षेत्रमा भएका समस्याहरू समाधानका लागि ३ प्रकारबाट सुधारका काम गरिरहेको उनले बताए । उनका अनुसार अस्पताल तथा स्वास्थ्य संस्थाको सेवा प्रवाह सुधारका लागि भौतिक संरचना, दक्ष जनशक्ति र प्रविधियुक्त गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापनमा सरकार गम्भीर ढङ्गबाट काम गरिरहेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा रहेको अपुग दरबन्दी थप गर्ने पहल भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्