
हेटौँडा/गैर सरकारी संस्था बागमती प्रदेशले चौथो वार्षिकोत्सवको अवसरमा आइतबार हेटौंडामा प्रदेश स्तरीय बृहत नागरिक सम्मेलन गरेको छ । विभिन्न नागरिक संघ संस्थाहरुको सहकार्यमा भएको नागरिक सम्मेलन बागमती प्रदेशका सभामुख भुवन पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्र्दै सभामुख पाठकले गैर सरकारी संस्थाले समाजमा खेलेको भुमिका बारे प्रशंसा गरे ।
केही व्यक्ति, समुहहरुले गैसस बारे गलत भाष्य सिर्जना गर्न खोजेको भन्दै त्यसतर्फ सचेत रहन सभामुख पाठकले आग्रह गरे । उनले गैर सरकारी संस्थाले जारी गर्ने घोषणापत्रले सरकारलाई मागनिर्देशनको रुपमा काम गर्ने विश्वास व्यक्त गरे । सभामुख पाठकले नागरिकको अधिकारलाई सुरक्षित गर्न आफ्नो तर्फबाट खेल्नुपर्ने भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसैगरी सम्मेलनमा बोल्दै बागमती प्रदेशसभा सदस्य भारती पाठकले नागरिकको अधिकारलाई कुण्ठित गरेर राज्यको समृद्धि नहुने बताईन् । स्थानीय, प्रदेश र संघ सरकारबीच तालमेल नमिल्दा त्यसको शिकार नागरिक हुने गरेको उनको भनाई थियो । नागरिकको अधिकारलाई सुरक्षित गर्ने सवालमा आफु एक्लै भएपनि सदनमा कुरा उठाउने प्रदेशसभा सदस्य पाठकले बताए । यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सरकारले बनाउने कानुनहरु नागरिक मैत्री हुन नसकेको बताएका थिए । देशको प्रमुख राजनीतिक परिवर्तनहरुमा नागरिक समाजको भुमिका उल्लेख्य रहेपनि तीन वटै तहको सरकारले त्यसलाई बेवास्ता गर्ने गरेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्