
हेटौंडा/हेटौँडा अस्पतालमा आकस्मिक सेवा २५ शैया क्षमताको मनोचिकित्सा वार्ड सेवा र ओपिडि सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि मनोचिकित्सा वार्ड सञ्चालनमा आउने भएको हो ।
सोमवार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटौंडा अस्पतालमा मंगलबार २५ शैयाको मनोचिकित्सा वार्ड सहित ओपीडि सेवा सुरुवात हुने जनाएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले तीन जना डाक्टर सहितको टोलीबाट मानसिक स्वास्थ्य उपचार गरिने बताए । उनले मानव सेवा आश्रममा ३० शैया क्षमताको मानसिक स्वास्थ्य पुर्नस्थापना केन्द्र सञ्चालन रहेको समेत बताए ।

अस्पतालमा सेवा सुचारु पछि प्रतिष्ठानले मकवानपुरका सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मनोसामाजिक, मानसिक स्वास्थ्य सम्बन्धी प्रयाप्त तालिम प्रदान गरिने बताए । सामूदायिक रुपमा फार्मेसी समेत सञ्चालन गर्दै स्थानीय तहमा मासिक एक दिन ओपीडि सेवा प्रदान गर्ने प्रतिष्ठानको लक्ष्य रहेको बताए ।
हेटौंडा अस्पतालमा अन्य विषयका साथै मानसिक रोग विशेषज्ञको २ देखि ५ बजे सम्म विस्तारित जोपिडि सेवा दिने योजना माथि छलफल भएको समेत जनाएको छ । त्यसैगरी प्रतिष्ठानले यही चालु वर्षबाट एम.डि.साइक्याट्रि वा मानसिक रोग विशेषज्ञ तयार गर्ने शैक्षिक कार्यक्रम सञ्चालनमा आउने जानकारी दिएका छन् । यसका लागि प्रतिष्ठान चिकित्सा शिक्षा आयोगबाट स्वीकृतिको लागि निरीक्षण गराउने क्रममा रहेको पनि शेरचनले बताए ।
उनका अनुसार जिल्ला सामुदायिक मानसिक स्वास्थ्य सेवा सञ्चालन पनि आउने जानकारी दिए । हालको लागि मकवानपुर जिल्लाको २ वटा गाउँपालिका केन्द्रमा महिनामा १ दिन ओपिडि सेवाप्रदान गरिने जनाएको छ । यसमा सामुदायिक फार्मेसि सेवा समेत सञ्चालनमा ल्याइने प्रतिष्ठानको योजना छ । आगामि आर्थिक वर्षमा भने मकवानपुर जिल्लाको १३ वटै गाउँपालिका केन्द्रमा महीनामा १ पल्ट मानसिक रोग विशेषज्ञ सहितको टोलिले महिनामा १ दिन मानसिक स्वास्थ्य सेवा संचालनमा आउने जनाइएको छ ।
‘यस स्वास्थ्य विज्ञान प्रतिष्ठानले बृहत समष्ठिगत एकिकृत मानसिक स्वास्थ्य सेवा विकास गर्ने छ । जुन शुरुमा मकवानपुर जिल्ला स्तरमा र पछि सम्पुर्ण वाग्मति प्रदेशको जिल्लाहरूमा लागु गर्न सकिने छ ,’डा.शेरचनले भने , ‘यसरी नेपालको मौलिक परिस्थिति सापेक्ष नमुना मानसिक स्वास्थ्य सेवा पद्धति विकास गर्ने बहत्तर उदेश्य सहित अगाडि बढन प्रयत्नरत छौ ।’
प्रतिष्ठानको एजेण्डा मनोरोगिको उपचार र पुनस्र्थापना सेवामा सिमित मानसिक स्वास्थ्य सेवा पद्धतिको विकासमा मात्र संकुचित नभएको जनाएको छ । मानसिक स्वास्थ्यको प्रवर्धनमा ठोस पाइलाहरु चाल्नु अहंम विषय भएको हुनाले पनि आत्महत्या, दुर्व्यसन, हिंसा, डर, भय, चिन्ता जस्ता आजको आधुनिक समाजको विद्यमान समस्याहरुको समाधान आध्यात्मिक विकासको माध्यमद्वारा गर्न सकिने पनि जनाएको छ ।
प्रतिष्ठानले मनोचिकित्सा वार्ड सेवा र ओपिडि सेवा सञ्चालनमा प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, कोशिस गैह सरकारी संस्था, मानव सेवा आश्रम जस्ता मानवसेवामा समर्पित संस्था तथा निकायहरु सँग सहकार्य गरेर देशको लागि उदाहरणीय मानसिक स्वास्थ्य सेवा पद्धति विकास गर्न सबैको सहकार्य गर्ने जनाएको छ ।
हेटौडामा मानसिक स्वास्थ्य सेवाको अवस्था
बागमती प्रदेश सरकारको गौरव आयोजनाको रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडामा, २०७६ सालमा स्थापित भएको हो । यसको मूल एजेण्डाहरुमा कुशल, दक्ष उच्चस्तरीय स्वास्थ्य जनशक्ती तैयार गर्ने, सर्वसुलभ र गुणस्तरिय स्वास्थ्य सेवा पुयाउने र स्वास्थ्य क्षेत्रमा आवश्यक अनुसन्धान कार्यहरु गर्ने । हाल ४ वटा विषयमा स्नातक तहका शैक्षिक (नर्सिङ, जनस्वास्थ्य फार्मेसी, ल्याव ) तहका कार्यक्रमहरु संचालनमा छन् भने १ वर्षे एनेस्थेसिया सहायक तालिम चालु आर्थिक वर्षमा नै संचालन हुँदै छ भने ४ वटा विषयमा स्नातकोतर तहको विशेषज्ञ चिकित्सक तैयार गर्ने शैक्षिक कार्यक्रमहरु आउँदैछन् । त्यसै गरी हेटौडा अस्पतालको स्तरोन्तिमा यथेष्ट प्रयासहरु भएका छन। तर विगत २ वर्ष देखि हेटौडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नितिगत अस्पष्ठताको कारण यस स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो पूर्ण क्षमतामा काम गर्न र गतिशिल हुन कठिन भएको पनि छ । फलस्वरुप हेटौडा अस्पतालमा मानसिक स्वास्थ्य सेवा स्थापना नहुनु विडम्बनापूर्ण मान्नु पर्दछ स्थानिय स्तर सम्म पनि व्यवस्था हुनुपर्ने आधारभुत मानसिक स्वास्थ्य सेवा उपलब्ध हुने त कुरै भएन । धन्न हेटौंडामा स्थित मानव सेवा आश्रमले भने अतुलनिय मानव सेवा गरेर मानसिक स्वास्थ्य पुर्नस्थापनाको क्षेत्रमा गहकिलो योगदान पुर्याएको हुनाले शुन्य मानसिक स्वास्थ्य सेवा हुन परेको छैन् ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका डिन दुर्गा मिश्र खड्का, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. खगेन्द्र गेलाल, शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचन,स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, अस्पतालका रजिष्ट्रार राजेश प्रसाईं, मेसु डा. रामचन्द्र सापकोटा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्