
हेटौंडा/नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा मकवानपुरले हेटौंडामा शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ ।बीरगंजमा भएको १४ औं महाधिवेशनबाट चयन भएका केन्द्रीय पदाधिकारीलाई हेटौंडामा स्वागत तथा सम्मान गरिएको हो ।
विजयादशमी, शुभदीपावली, नेपाल संवत तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको छ । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खण्डेवालले व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले व्यवसायीलाई नै धराप पार्ने खालको ऐन संसोधन हुनुपर्ने आवश्यकता औंल्याए । औषधि व्यवसायमैत्री कानुन आवश्यक रहेकोमा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभाग बीरगंजका व्यवस्थापक सुन्दर बज्राचार्यले पछिल्लो समय औषधि व्यवसायीले सिद्धान्त भुलेकोमा दुखेसो व्यक्त गरे । औषधि जस्तो संवेदनशील क्षेत्रमा कार्य गर्दा सजगता अपनाउनुपर्ने उनको भनाई छ ।
औषधी व्यवसायी संघ मकवानपुरका जिल्ला अध्यक्ष नारायणमान श्रेष्ठको सभाध्यक्षता रहेको कार्यक्रममा,औषधी व्यवस्था विभाग वीरगंजका प्रमूख किरण सुन्दर बज्राचार्य,हेटौंडा ११ की वडा अध्यक्ष जुना दहाल, बागमती प्रदेश औषधी व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ,चितवन जिल्ला औषधी व्यवसायी संघका अध्यक्ष विनोद कुमार तिमल्सीना, मधेश प्रदेशका महासचिव पप्पु कुमार झा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मकवानपुर औषधी व्यवसायी संघका संथापक स्व. अध्यक्ष प्रजारज वैरेका श्रीमती रुद्रकुमारी वैरेलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमलाई महासचिव भरत बहादुर कार्कीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्