इजरायलमा रहेका थप १८ जना नेपालीको उद्धार, शव पनि चाँडै ल्याउने तयारी

नेपाल कलम
नेपाल कलम ३० आश्विन २०८० मंगलवार २०:१५
1 Min Read
Aa

काठमाण्डौ /सरकारले इजरायलमा रहेका थप १८ जना नेपालीको उद्धार गरेको छ । १० दिनअघि प्यालेस्टीनको हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहेका थप १८ जनालाई सरकारले भारतको नयाँ दिल्ली हुँदै नेपाल ल्याउन थालेको छ ।

आज (मङ्गलवार) उनीहरू स्पाइस जेटको विमानमार्फत भारतको नयाँ दिल्ली आउने र त्यहाँबाट नेपाली दूतावासको पहलमा सडक यात्रा हुँदै भोलि (बुधवार) कैलालीको गौरीफण्टा नाका आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदले बताए । आज नेपाल आउन लागेकामध्ये चार जना विद्यार्थी, १३ जना कामदार र एक जना पर्यटक भिसामा इजरायल गएका नेपाली रहेका छन् ।

सरकारले यसअघि नेपाल एअरलाइन्सको जहाज पठाएर दुई सय ५४ जना नेपालीको उद्धार गरेको थियो । पढाइ र रोजगारीका लागि इजरायलमा झन्डै पाँच हजार जना नेपाली रहेकामा पाँच सय तीन जनाले देश फर्किन चाहेको भन्दै आवेदन दिएका छन् ।

यसैबीच इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव केही दिनभित्रमा नेपाल पठाइने भएको छ । इजरायलमा रहेको नेपाली राजदूतावासले पहिचान भएका शवहरूको कानुनी प्रक्रिया पूरा गरेर दुई÷तीन दिनमा नेपाल पठाउने प्रक्रिया अगाडि बढेको जनाएको छ । गएको शनिवार हमास समूहको आक्रमणमा परि १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये पाँच जनाको शव नेपाली दूतावासलाई प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्