
हेटौंडा/खेलकुद विकास समिति मकवानपुरको नवनिर्मित ‘खेलाडी आवासगृह’ को उद्घाटन गरिएको छ । बुधवार हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ हुप्रचौरस्थित नवनिर्मित भवनको हेटौंडा नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।
हेटौंडा उपमहानगरपालिकाको कुल २२ लाख बजेटमा खेलकुद विकास समितिले दोस्रो तल्लाको एक हल र तेस्रो तल्लाको दुई कोठा निर्माण गरेको हो । भवनको उद्घाटन गर्दै हेटौंकी नगर प्रमुख लामाले संघसंस्था सफल भए उपमहानगरपालिका पनि सफ हुने बताईन् । खेलकुदमा उपमहानगरले करोडौं लगानी गरेपनि भवन निर्माणले दीर्घकालीन रुपमा सहयोग गरेको बताउँदै प्रमुख लामाले भवनको सहि सदुपयोग गर्न आग्रह गरिन् ।

त्यसैगरी , हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एंव हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेले नवनिर्मित भवनले टाँढाबाट आउने खेलाडीहरुलाई होटलमा खर्च गरेर बस्नुपर्ने बाध्यता हटेको बताए । उनले खेलाडीहरुको लागि खेलकुद गतिविधि मात्रै नभइ खेलकुदका पुर्वाधारहरु पनि आवश्यक रहेको औल्याए ।
५० देखि ६० जना बस्न मिल्ने क्षमता भएको उक्त नवनिर्मित भवनले वार्षिक करिव ८ लाख बचत हुने खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्कीले जानकारी दिए । कार्यक्रममा समितिका पूर्व कार्यालय प्रमुख खुशराज दाहाललाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा निवर्तमान नगर प्रमुख हरिबहादुर महत, हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्