संघीयता कार्यान्वयनमा बागमती सरकार प्रतिबद्ध ः मन्त्री श्रेष्ठ

नेपाल कलम
नेपाल कलम १ कार्तिक २०८० बुधबार १७:२१
1 Min Read
Aa

हेटौँडा/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार संघीयता कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएको छ । बुधबार भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले ०७२ सालमा जारी भएको संविधानको मर्म र भावना अनुरुप प्रदेश सरकार अगाडि बढिरहेको बताए ।

प्रदेशसभाबाट तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा सामेल गराउने विधेयक पारित गरेर बागमती प्रदेश सरकार संघीयताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको पुष्टि भएको समेत मन्त्री श्रेष्ठले जिकिर गरे । भाषा ऐन संघीयता कार्यान्वयनको सवालमा कोशेढुंगा सावित हुने मन्त्री श्रेष्ठले विश्वास समेत व्यक्त गरे ।

पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्रहरी समायोजन ऐनको लागि प्रदेश सरकारले संघीय सरकारको ध्यानाकर्षण समेत गराएको बताए । गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रममा ६ महिनाभित्र प्रहरी समायोजन गर्ने प्रतिबद्धता उल्लेख भएतापनि त्यसो हुन नसकेको उनले बताए । विगतका ऐन कानुनहरुलाई समयानुकुल परिमार्जन गरेर बनेका ऐनहरुलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाई छ ।
मन्त्री श्रेष्ठले सघंीय सरकारले निजामती ऐन ल्याउन ढिलाई गर्दा प्रदेश सरकारले निजामती ऐन ल्याएर कर्मचारी नियुक्त गर्नु नै प्रदेश सरकारको ठुलो सफलता भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्