
हेटौंडा/कोशीमा विद्रोह गरी कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि हौसिएका बागमतीका कांग्रेस सांसदहरू पनि कोशी प्रकरण दोहो¥याउने प्रयासमा लागेका छन् । बागमतीका सांसदहरूले कांग्रेस महामन्त्री गगन थापासँग यो विषयमा छलफल पनि गरेका छन् । महामन्त्री थापाले बिहीबार काठमाडौं प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बागमतीका ४ जना सांसदले आफूलाई भेटेको सार्वजनिक गरे । तर, आफूले यो विषयमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई भन्न भनेर पन्छिए ।
‘आज बिहान बागमती प्रदेशका चार सांसद आउनुभएको थियो । उहाँहरू बागमती प्रदेशमा हाम्रा ३७ सांसद छन् । हामी सबैभन्दा ठूलो पार्टी हो हामी माओवादीलाई मान्दैनौं । हाम्रो (शेखर पक्ष) केही दिनभित्र १२÷१३ जना पुगेका छन् । सरकार बदल्दिऔं भन्दै हुनुहुन्थ्यो,’ उनले भने, ‘मैले यस्तो कुरा चाहिँ पार्टी सभापति र वरिष्ठ नेतालाई गएर सोध्नुहोला मलाई कम ज्ञान छ भनेको छु । तर, यो सबैतिर आउँछ । कसरी जाने के गर्ने भन्ने टुंगो नभएपछि आउँछ ।’

बागमती प्रदेशमा प्रत्यक्षबाट २५ जना र समानुपातिकबाट १२ जना गरी ३७ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशसभामा एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।
११० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सांसद चाहिन्छ । कांग्रेस कसरी बहुमत जुटाउँ छ त्यसको कुनै रुपरेखा भने तयार भएको छैन । तर केही कांग्रेस सांसदहरू भने आफ्ने सरकार बनाउनुपर्ने भनिरहेका छन् । यसमाथि कांग्रेसभित्रै पनि एकमत छैन । प्रदेशसभामा कांग्रेसभित्र टकराव छ । सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र प्रदेश सांसदसमेत रहेका प्रदेश सभापति इन्द्र बानियाँबीच ठाउँ पायो कि एकले अर्कालाई पछि पार्ने प्रतिस्पर्धा चलिरहेको छ ।
०७९ सालको संघीय चुनावमा आफूलाई बानियाँले हराउन भूमिका खेलेको डीनाले आरोप लगाउँदै आएकी छिन् । बानियाँ भने अहिले धेरैजसो काठमाडौंमा भेटिन्छन् । बानियाँ मुख्यमन्त्री बन्न प्रदेशसभामा चुनाव लड्न गएका थिए । तर संसदीय दलको चुनावमा डीनाले उनलाई हराउन भूमिका खेलिन् ।
आपूले चुनाव हारेपछि होटल एभोकाडोमा डीनाले गरेको समूह भेलामा बानियाँले हराएको बताएकी थिइन् । यसपछि संस्थापन समूहमा बानियाँको विकल्पमा बहादुरसिंह लामालाई अघि सारियो । र बानियाँसग लामा संसदीय दलको चुनाव लडे र जिते । यसको केन्द्रीय भूमिकामा डीना थिइन् ।
लामा प्रतिनिधिसभा चुनाव लड्न चाहे पनि इतर समूहका नेता अर्जुन नरसिंह केसीका लागि प्रदेशमा चुनाव लडेका थिए । सो बेलामा मुख्यमन्त्री बनाउन पहल गर्ने भनेर केसीले लामालाई मनाएका थिए । डीना र बानियाँको लफडा अहिले लामा र बानियाँमा देखिन थालेको छ ।
संस्थापन समूहमा रहेका बानियाँ अहिले इतर समूहमा नजिक छन् । तर उनलाई समर्थन गर्ने सांसदहरू पनि इतर समूहमा रहे पनि खुलेर भन्न सक्ने अवस्थामा छैनन् । प्रदेशसभाको प्रमुख सचेतकमा रहेका कुन्दनराज काफ्लेले समेत पदबाट राजीनामा दिएका छन् । भन्नलाई पार्टीलाई समय दिन नसकिने भने पनि उनले पार्टी प्रदेश राजनीतिको कारण राजीनामा दिएका हुन् । बानियाँको पक्षमा अहिले १८ जनासम्म सांसद छन् । महामन्त्री थापालाई भेट्न पुगेका सांसदहरूले पनि शेखर समूहमा सांसदहरू बढेको ब्रिफ गरेका छन् । अहिले बानियाँ शेखर समूहमा आइसकेका छन् । पहिले लामालाई सहयोग गरेका पनि बानियाँको पक्षमा खुल्न थालेका छन् ।
कांग्रेस प्रदेशसभाको ठूलो दल भए पनि प्रभावकारी देखिएको छैन । गठबन्धनको बैठक, सरकार सञ्चालन गर्न र निर्णय गर्ने बेलामा कांग्रेसको प्रभाव पर्दैन । गठबन्धनको बैठकमा निर्णय एउटा भएर आउने र कांग्रेसका नेताहरूलाई भने हस्ताक्षर गर्नमात्र लगाइने गरिएको छ । यो विषयमा काफ्लेको असन्तुष्टि थियो । केन्द्रमा कृष्णप्रसाद सिटौला समूहमा रहे पनि काफ्ले प्रदेशमा संस्थापनसँ सन्तुष्ट छैनन् ।
बानियाँ पनि मुख्यमन्त्री परवर्तन गर्ने निर्णयमा भने पुगिनसकेको बुझाइ कांग्रेस नेतामा छ । नेविसंघबाट उदाएका नेताहरूमा भने यो पारामा गठबन्धन चल्दैन भन्ने निष्कर्षमा छन् । अहिले बानियाँको पक्षमा बहुमत सांसदको सहयोग पुग्ने देखिए पनि दलको नेता परिवर्तन गर्न भने आँट गरेका छैनन् । संसदीय दलको चुनावको समयमा बानियाँ संस्थापन पक्षमा थिए ।
अधिकांश समानुपातिक सांसद लामासँग रुष्ट छन् । संसदीय दल प्रभावकारी नभएको गुनासो सांसदहरूको छ ।
सरकार परिवर्तन गर्ने चर्चासँगै निर्णायक बनाउन सांसदहरू लागि परेका छन् । संसदीय दलको नेता लामा भने चर्चा भएजस्तो वातावरण बागमतीमा नरहेको बताउँछन् । ‘हिजो संसदीय दलको चुनावमा पनि मैले जित्न नसक्ने भन्ने थियो । तर चुनाव त जितेँ । अहिले हल्लामात्र हो । बाहिर बाहिर मात्र भनेर केही हुँदैन । सामना गर्नुपर्ने अवस्था आए ग्राउण्डमै समाना गर्छु,’ लामाले भने ।
पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास नभएको उनले दाबी गरे । ‘सरकार परिवर्तन गर्ने, दलको नेता परिवर्तन गर्ने भनेर बोलेर टेस्ट गरिएको हो । त्यस्तो केही पनि होइन,’ लामाले भने । कोशीमा संविधानले सरकार गठनका लागि व्यवस्था गरेको अन्तिम विकल्प प्रयोगमा आएको थियो । तर अन्य प्रदेशमा सो अवस्थामा पुगेको छैन । बागमतीमा संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार छ । कोशीमा उपधारा ५ मा पुगेको थियो ।
बागमतीमा सरकार परिवर्तन गर्ने सम्भावना तत्काल नरहेको प्रदेश सांसद रमेश महत बताउँछन् । ‘अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन । प्रयास भए पनि त्यो पार्टीभित्र कुनै छलफल भएको छैन,’ उनले भने । कांग्रेस दलभित्र चरम असन्तुष्टि छ । श्याम खड्का, विमल ठकुरीले केन्द्रको राजनीति नजिकबाट देखेकाले प्रदेशमा कांग्रेसको राजनीति गतिलो भएन भन्ने गरेका छन् ।
सुना परियार, हरिप्रभा खड्गी मन्त्री बन्ने सूचीमा भए पनि लामालाई अप्ठ्यारो पर्ने भएपछि पछि हटेका थिए । मोहन बस्नेतको जोडबलमा राजनीतिक पृष्ठभूमि नभएकी मसिना खड्कालाई वन तथा वातावरण मन्त्री बनाइएको थियो । यसले पनि असन्तुष्टि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्