
हेटौंडा/मकवानपुर जिल्लामा पनि गैरआवासीय नेपाली (एनआरएनए) नागरिकता वितरण सुरु गरिएको छ ।
बुधबार पहिलो पटक गैरआवासी नेपाली हेटौंडा ११ नवलपुरकी संजिता विडारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । उहाँलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो । नागरिकता प्राप्त गरेपछि विडारीले ईश्वर, देश र जनताको नाममा शपथ लिनुभएको थियो ।

संजिताका श्रीमान हेटौंडा ५ सानोपोखराका श्रीकृष्ण थापाले पनि बुधबार नै नेपाली नागरिकता प्राप्त गर्नु भएको छ । उहाँहरु विगत १५ वर्षदेखि अष्ट्रेलियामा बस्दै आउनु भएको छ । पुनः नेपाली नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै थापाले देश प्रतिको माया अझै बढेको बताउनुभयो । आफ्नो देशमा लगानी गर्ने बाटो खुलेको भन्दै थापाले देशलाई आर्थिक रुपमा सहयोग पुग्ने बताउनुभयो ।
यसअघि असोज ३० गते मंगलबार बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नेपाली नागरिकता दिँदै अभियानको सुरुवात गर्नुभएको थियो । गत जेठमा नागरिकता सम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्