मौलाउँदै गाँजा खेती

नेपाल कलम
नेपाल कलम १९ कार्तिक २०८० आईतवार ०५:५५
8 Min Read
Aa

हेटौंडा/मकवानपुरको उत्तर–पश्चिमी क्षेत्रका दुई स्थानीय तहमा गाँजा खेती झन् मौलाएको छ । मंगलबार प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गएका मकवानपुरका सुरक्षा निकाय प्रमुखहरू मौलाएको गाँजा खेती देख्दा अचम्मित भए ।

‘यसरी गाँजा खेती गरिएको होला भनेर कल्पनै थिएन,’ सुरक्षा निकायका एक प्रमुखले भने, ‘लुकीछिपी केही स्थानमा खेती होला भन्ने थियो, यहाँ त सबैजसो खेतबारीमा गाँजा खेती नै रहेछ ।’ कैलाश गाउँपालिकाको नामटार, कालिकाटार र भार्ता पुगेका सुरक्षा निकाय प्रमुखहरूले ती ठाउँमा गाँजा र केहीमा अफिमका बिरुवा हुर्कंदै गरेको बताए ।

एकातिर गाँजालाई वैधानिकता दिनुपर्ने माग बढिरहेको र दुर्गम बस्तीमा खेती मौलाउँदै जानु स्थानीय प्रशासनका निम्ति टाउको दुखाइ भएको छ । राक्सिराङ र कैलाश गाउँपालिकाका अधिकांश भागमा व्यापारी एवं तस्करकै लगानीमा गाँजाको खेती गरिँदै आएको हो । प्रहरी–प्रशासन र स्थानीय तहबाट धेरै प्रयास गरे पनि अवैध खेती नियन्त्रण हुन सकेको छैन । लागूऔषध कारोबारीले एकाध वर्षयता भने गाँजा व्यापार खुला हुने हल्ला चलाएर स्थानीयलाई खेती बढाउन उक्साउने गरेका छन् ।

०७४ को निर्वाचनपछि स्थानीय तहका जनप्रतिनिधि र प्रहरी प्रशासनले जिल्लामा लागूऔषध कारोबार रोक्न गाँजा तथा अफिम खेती न्यूनीकरण अभियानलाई तीव्रता दिएको थियो । कैलाश र राक्सिराङलाई ‘गाँजा खेतीमुक्त क्षेत्र’ बनाउन विभिन्न दबाबमूलक अभियान पनि चलाइएको थियो । स्थानीय प्रशासनले गाँजा र अफिमका बोट फाँड्न पटकपटक प्रहरी परिचालन पनि गर्दै आएपछि खेती गर्नेहरू केही निरुत्साहित भएका थिए । तर अहिले फेरि धान खेतमा पनि गाँजा रोप्न थालिएको छ । जनप्रतिनिधिले नै गाँजा व्यापार खुला गर्नुपर्ने अभिव्यक्ति दिन थालेपछि तस्कर तथा व्यापारीले खेतीका लागि उक्साउन थालेको एक कृषकले बताए ।

गाउँपालिकालाई गाँजा–अफिम खेती मुक्त बनाउन धेरै प्रयत्न गर्दा पनि सफल हुन नसकिएको राक्सिराङका अध्यक्ष राजकुमार मल्लले बताए । पालिकाका सबैजसो वडामा लुकीछिपी गाँजा खेती भइरहेकाले सरकारले केही विकल्प दिनुपर्ने उनको भनाइ छ । ‘स्थानीय तहबाट अनेक उपाय अपनाउँदा पनि समाधान आएन । संघीय सरकारले अब गाँजा खेतीलाई नियन्त्रण गर्ने हो भने विकल्प दिनुपर्छ, होइन भने हाम्रो जमिनमा उत्पादन हुने गाँजा खेतीको संरक्षण गर्नुपर्छ,’ अध्यक्ष मल्लले भने ।

कैलाशका अध्यक्ष लोकबहादुर मोक्तान भने अवैध गाँजा खेती नियन्त्रणमा पालिकाको खासै भूमिका नहुने बताउँछन् । ‘चुनावको समयमा सांसदका उम्मेदवार गाँजालाई वैधानिकता दिन्छौं भनेर हिँड्छन्, संसद्मा गाँजालाई वैधानिकता दिनुपर्छ भनेर जनतालाई उक्साउने काम गर्दा खेती बढेको हो,’ उनले भने, ‘स्थानीय सरकारसँग प्रहरी प्रशासन र कानुन पनि नभएकाले गाँजा खेती नियन्त्रण गर्न भूमिका नै हुँदैन ।’

स्थानीयले खेती गर्ने र भित्र्याउने बेला प्रहरी गएर बोट नष्ट गर्ने क्रम लामो समयदेखि चल्दै आएको छ । सडक छेउछाउ केही नष्ट गरे पनि भित्री क्षेत्रमा पर्याप्त खेती हुने भएकाले प्रहरी खटिएर मात्रै नियन्त्रण सम्भव नरहेको स्थानीय एक शिक्षकले बताए । जिल्ला प्रशासन कार्यालयका एक अधिकृत गाँजा फँडानीका लागि ५ सय जना प्रहरीलाई लगातार एक महिना परिचालन गर्दामात्र फँडानी सम्भव हुन सक्ने बताउँछन् । ‘प्रहरीले एउटा पालिकामा बढीमा एक सय बिघाको गाँजा फँडानी गर्न सकिएला । हजारौं बिघामा खेती भइरहेकाले फँडानी गरेर मात्रै कति सम्भव होला ?’ उनले भने ।

यस आर्थिक वर्षको कात्तिक १५ सम्म ५ सय प्रहरी परिचालन गरेर एक सय ७५ बिघामा लगाएको गाँजाको बोट नष्ट गरिएको एसपी सीताराम रिजालले बताए । गत आवमा १ सय ४४ बिघाको गाँजा नष्ट गरिएको थियो । ०७९÷८० मा प्रहरीले ६ हजार ४ सय २० केजी गाँजा र १४ अफिम बरामद गरेको थियो । गत साउनयता १ हजार ५ सय ५९ केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।

भौगोलिक रूपमा विकट रहेका यी दुई पालिकामा सडक सुविधा नहुँदा स्थानीय उत्पादनलाई बजार पु¥याउन सहज छैन । तरकारी र पशुजन्य उत्पादनले सहजै भाउ नपाउने हुँदा वैकल्पिक खेतीमा लाग्नुपरेको कतिपय कृषकको भनाइ छ । ‘गाँजा रोप्नदेखि उत्पादन किन्नसम्म व्यापारी गाउँमै आउँछन्, राम्रै मूल्य पनि पाइन्छ,’ एक कृषकले भने, ‘गाउँमै केजीको कम्तीमा १० हजार रुपैयाँ पाइन्छ । अन्य खेती गरे न बेचिने टुंगो हुन्छ न भाउ नै पाइन्छ ।’ गाँजा खेती गर्न भारतीय लागूऔषध कारोबारीले समेत लगानी गर्दै आएका छन् । बीउ उतैबाट ल्याएर खेती गर्न लगाउने र उत्पादन पनि उनीहरू नै लेजाने गरेको स्थानीय कृषक बताउँछन् ।

प्रहरीले पछिल्लो तीन वर्षमा गाँजासहितको लागूऔषध ओसारपसार गर्ने ७ सय २१ जनालाई पक्राउ गरेको छ । तीमध्ये ८० जना भारतीय छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ०७७÷७८ मा १५१, ०७८÷७९ मा २२५, ०७९÷८० मा २४८ जना र चालु आवमा ९७ जना लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरू अधिकांश राक्सिराङ र कैलाश गाउँपालिकका छन् । अशिक्षा र भोकमरी बेहोरिरहने चेपाङ समुदाय थोरै पैसाको लोभमा लागूऔषध ओसारपसारमा संलग्न हुँदा प्रहरीको फन्दामा परेका हुन् ।

भरियामात्रै पक्राउ

कैलाश गाउँपालिकाका ३६ वर्षीय युवक एक वर्षदेखि भीमफेदी कारागारमा छन् । गाँजासहित पक्राउ परेका उनले अझै ३ वर्ष कैद भुक्तान गर्न बाँकी छ । सामान्य लेखपढ नजानेका उनी दिनभर गाडीमा ढुंगाबालुवा लोड गर्ने काम गरेर दुई छोरा र पत्नीसहितको परिवारको छाक टार्ने मेलो जुटाउँथे ।

काम नपाएका दिन उनी कन्दमूल खोज्न जंगलतिर जान्थे । खाना नभएर भोकै घरमा बसिरहेका बेला एक्कासि घरमा आएका अपरिचित एक पुरुषले एक बोरा सामान राक्सिराङबाट मनहरी पु¥याइदिए तीन हजार रुपैयाँ दिने बताए । घरका जहान भोकभोकै सुत्न लागेका बेला एक बोरा बोक्दा राम्रै पैसा आउने भएपछि उनी खुसी भए । रात पर्ने बेला २० किलोको बोरा भिरेर हिँडेका उनलाई बाटोबाटै प्रहरीले पक्राउ गरेको हो । तीन हजार रुपैयाँको आशामा भरिया बनेका उनले न पैसा पाए न घर फर्कन ।

गत असोजमा गाँजा प्याक गरेको दुई वटा पोकासहित कैलाश भार्ताका २१ वर्षीया सरिता चेपाङ र १८ वर्षीय सुरेश चेपाङलाई मनहरी बजारनजिकै प्रहरीले समात्यो । ५÷५ केजीको प्लास्टिकमा प्याक गरेको गाँजा मनहरी बजारसम्म पु¥याए एक÷एक हजार रुपैयाँ ज्याला दिने भने पनि त्यहाँ पुग्नेबित्तिकै प्रहरीले पक्राउ गरेको हो ।

अहिले दिदी भरतपुर र भाइ भीमफेदी कारागारमा छन् । गत पुसमा राक्सिराङ सरिखेतका २५ वर्षीय मैनबहादुर चेपाङ र २३ वर्षीया श्रीमती माहिलीमाया १२ केजी गाँजासहित नेवारपानीबाट पक्राउ परे । नेवारपानीसम्म गाँजा बोकेर पु¥याएको दुई हजार रुपैयाँ ज्याला पाउने आशामा चेपाङ दम्पतीले सरिखेत औलेबाट राति जंगलको बाटो हुँदै नेवारपानीतर्फ ल्याउने क्रममा प्रहरीले बाटोमा समातेको हो । उनीहरूका डेढ वर्षदेखि ८ वर्षसम्मका २ छोरी र २ छोरा छन् । अहिले उनीहरूको हेरविचार मावलीले गरिरहेका छन् । तस्करले भनेअनुसार भरियाका रूपमा प्रयोग भएका उनीहरूबाट मुख्य कारोबारीबारे केही नखुल्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार गाँजा कारोबारीको पाँच तहको सञ्जाल छ । पहिलो खरिदकर्ता, दोस्रो ठेक्का लिने ठेकेदार, तेस्रो बिचौलिया, चौथो किसान र पाँचौं तथा अन्तिममा भरिया । भीमफेदी कारागारमा गाँजा ओसारपसारमा कैद भुक्तान गरिरहेका एक बिचौलियाका अनुसार नेपालमा उत्पादन भएको गाँजा विभिन्न नाका हुँदै भारत पुग्ने गरेको छ । गाजा तथा अन्य लागूऔषध खरिद गर्ने भारतीय तस्करहरू सीमापारिबाटै ‘धन्दा’ चलाउँछन् । सीमापारिबाट उनीहरूको सम्पर्क नेपालको तराई क्षेत्रमा रहेका ठेकेदारसँग हुन्छ । किसानले उत्पादन गरेको गाँजा खरिद गरेर बेच्ने बिचौलिया हुन्छन् । जोसँग ठेकेदारले कुरा गरेर माग गर्छन् । किसानबाट खरिद गरेपछि निश्चित स्थानसम्म पु¥याउन गरिबी र बेरोजगारीमा पिल्सिरहेका स्थानीयलाई नै भरियाका रूपमा प्रयोग गरिँदै आएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता भण्डारी लागूऔषध ओसारपसारमा धेरै तहका कारोबारी संलग्न रहेकाले नाइकेहरू पक्राउ नपर्नुको मुख्य कारण रहेको बताउँछन् । ‘गाँजा ओसारपसार गर्नेहरू ४÷५ तहमा बसेर काम गरेका हुन्छन् । हामीले पक्राउ गर्ने भरियाले धेरैजसोलाई चिनेकै पाइँदैन,’ उनले भने, ‘उनीहरू झूटो पहिचान बताएर काम गराइरहेका हुन्छन्, त्यसैले पक्राउ गर्न असहज हुन्छ ।’ तीनै तहको सरकार र दलहरूको संयुक्त प्रतिबद्धताबिना मकवानपुरमा मौलाएको गाँजा खेती नियन्त्रण गर्न नसकिने स्थानीय प्रशासनको ठम्याइ छ । प्रहरी–प्रशासनको एक्लो प्रयासले मात्र गाँजा–अफिमको अवैध खेती रोक्न सम्भव नहुने प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्