समुदायमा आधारित कृषि प्रणालीमा जाँदैछौं ः मुख्यमन्त्री

नेपाल कलम
नेपाल कलम २० कार्तिक २०८० सोमबार १६:२७
2 Min Read
Aa

हेटौँडा/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषिक्षेत्रमा राज्यले गरेको लगानीको अनुपातमा प्रतिफल प्राप्त नभएको बताएको छ । उनले कृषिमा भएको व्यक्ति केन्द्रित अनुदान लगानीबाट प्रतिफल प्राप्त नभएकाले बागमती प्रदेश सरकार समुदायमा आधारित कृषि प्रणालीमा जान लागेको बताए ।

राष्ट्रिय योजना आयोगको आयोजनामा सोमबार हेटौँडामा भएको सोह्रौँ योजना (२०८१÷०८२–२०८५÷०८६) तर्जुमासम्बन्धी बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कृषिमा यसअघि व्यक्ति केन्द्रित गरी दिइएको अनुदान पहुँचवालाले मात्र पाएको बताए ।

राजनीतिक परिवर्तनमा क्रमभङ्ग भयो, प्रशासनिक क्षेत्रमा पनि सङ्घीयताको भावनाअनुसार परिवर्तन भएको तर योजना निर्माणमा पुरानै मानसिकता रहेको बताउँदै उनले भौगोलिक अवस्था र आवश्यकताका आधारमा योजना निर्माणमा विशिष्टीकरण आवश्यक भएको औँल्याए । उनले स्थानीय आवश्यकताका आधारमा योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले अहिले हामी पन्ध्रौँ योजनाको अन्तिम वर्षमा रहेको बताउँदै दिगो विकासका लक्ष्यहरु प्राप्ति हुने गरी आगामी योजना बन्नुपर्ने बताए । बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापाले विकासको मोडलमा परिवर्तन गर्न नागरिक लक्षित योजना तर्जुमा हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक यदुनाथ आचार्यले पन्ध्रौँ योजनाको समिक्षा, प्रगति, सोह्रोँ योजनाको आवश्यकता, नेपालको विकास प्रयासमा देखिएका मूलभूत सवाल तथा चुनौतीहरुको बारेमा जानकारी गराएका थिए । बागमती प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, प्रदेशका सचिवहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको छलफल कार्यक्रम मङ्गलबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्