थाहाको बसपार्कमा आधुनिक टर्मिनल भवन निर्माण हुने

नेपाल कलम
नेपाल कलम २१ कार्तिक २०८० मंगलवार १४:३९
1 Min Read
Aa

हेटौँडा/ थाहा नगरपालिकाको बसपार्कमा आधुनिक टर्मिनल भवन निर्माण हुने भएको छ । ७ करोड ५० लाख लागतमा निर्माण हुने बसपार्क टर्मिनल भवनको नगरपालिकाका उपप्रमुख भरत गोपालीले शिलान्यास गरेका हुन् ।

टर्मिनल भवन सहित बसपार्क व्यवस्थित बनाउन लागिएको हो । पहिलो चरणमा टर्मिनल भवन, बगैचा ,रेष्टुरेन्ट, शपिङ स्टल , अपाङ्गमैत्री शौचालय , चालक आराम कक्ष ,ग्यारेज , प्रहरी बिट , पक्की सडक , सडक बत्ती सहितका संरचनाहरु निर्माण गरिने आयोजना कम्पनी सि एण्ड ब्रदर्स कन्स्ट्रकर््सनका साइट इन्जिनियर नवराज खनियाले जानकारी दिए ।

भवन शिलान्यास पछिको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख गोपालीले आधुनिक स्तरको गुणस्तरीय भौतिक संरचनाको निर्माणमा जोड दिन निर्माण कम्पनीलाई आग्रह गरे । सबैको साझा सम्पति भएकाले संरचनाको निगरानी गर्नुपर्ने सबैको दायित्व भएको समेत उनले उल्लेख गरे ।
सहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको एकीकृत शहरी पुर्वाधार विकासको विकास कार्य अन्तर्गत संरचना निर्माण हुन लागेको हो । २०८१ भदौ २० गते भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

शिलान्यास कार्यक्रममा थाहा बसपार्क व्यवस्थापन समितिका उपाध्यक्ष राम बहादुर खत्री, बसपार्क व्यवस्थापन समितिका सदस्यहरु,अच्युत केसी,सुरेन्द्रमान प्रधान,अरुण लामा,इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर लगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्