बागमती सरकारद्वारा आज बसेको बैठकमा सचिव पदमा बढुवा देखी अस्ट्रेलियाको भ्रमण सिफारिस

नेपाल कलम
नेपाल कलम २२ कार्तिक २०८० बुधबार १८:३६
3 Min Read
Aa

हेटौंडा/बागमती प्रदेश सरकारले ३ कर्मचारीहरुलाई सचिव पदमा बढुवा गरेको छ । संघीय सरकारले निजामती कर्मचारी ऐन जारी नगरेको अवस्थामा प्रदेश सरकारले धमाधम प्रदेश निजामती कर्मचारी ऐन कार्यान्वयन गर्दै कर्मचारीहरुलाई सचिवमा बढवा गरेको हो ।

बुधबार(आज) बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारका विभिन्न निकायहरुमा कार्यरत ३ जना कर्मचारीलाई एघारौं तह (सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकलले प्रदेश निजामती कर्मचारी ऐन–२०७९ अनुसार एधारौ तह (सचवि) पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडामा कार्यरत डा. गौरीमान श्रेष्ठ, पुष्प विकास केन्द्र गोदावरीमा कार्यरत सुधिर श्रेष्ठ र कृषि केन्द्र ललितपुर कार्यरत नारायण कुमार श्रेष्ठलाई एघारौं तहमा बढुवाको निर्णय गरेको हो । बढुवा भएका डा. गौरीमान श्रेष्ठलाई सम्बन्धीत कार्यालयमा पदस्थापन गरिएको छ भने सुधिर श्रेष्ठलाई कृषि विकास निर्देशनालय हेटौंडामा र नारायण प्रसाद श्रेष्ठलाई कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र भण्डारा चितवनमा पदस्थापन गरिएको छ ।

यस्तै बागमती प्रदेश सरकारले कर्मचारी दरवन्दी तेरिज स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकलले ५ वटा मन्त्रालयको कर्मचारी दरवन्दी तेरिज स्वीकृत गरेको हो । बैठकलले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको कर्मचारी तेरिज स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले जस अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको ३१७ जना, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ४८ जना, संस्कृत पर्यटन तथा सहकारी मन्त्रालय १०३ जना, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ५८३ जना र खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय ३४६ जनाको दरवन्दी तेरिज स्वीकृत गरिएको उनले बताए ।

यसगरी बैठकले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने निर्णय गरेको छ । उक्त विषयको आन्तरिक तयारी संसकृति पर्यटन तथा सहकारी मन्त्रालयलाई तोकीएको उनले बताए । पर्यटन पूर्वाधार संचालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गरिएको छ । त्यस्तै उपसभामुख अप्सरा चापागाईको अष्ट्रेलिया भ्रमणका लागि मनोनयन गरी सरकारी प्रवेश आज्ञा (भिसा) सिफारिस गर्ने निर्णय गरेको छ । उक्त सिफारिसका आधारमा संघीय सरकारले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाउने मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्