
हेटौंडा/पर्यटन प्रवर्द्धनका उद्देश्यले आयोजित उक्त फिल्म फेस्टिभलको तयारी तीव्र बनाइएको छ । पर्यटनका लागि फिल्म फेस्टिभल भन्ने नाराका साथ थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते थाहा फिल्म फेस्टिभल–२०२३ को प्रचार प्रसारलगायत व्यवस्थापन भइरहेको छ ।
फिल्म फेस्टिभलमा थाहाका पर्यटकीय सम्भावनालाई उजागर गर्ने वृत्तचित्र प्रदर्शन गरिने भएको छ । फेस्टिभलमा प्रदर्शनी गर्न स्थानीय स्तरका विभिन्न क्षेत्रहरूमा छायाङ्कन गरिएको वृत्तचित्र प्रदर्शन गरिने संयोजक प्रमोद कृष्ण जोशीले बताए ।

फेस्टिभलको उद्घाटनका दिनमा नै उक्त वृत्तचित्र देखाइने उनले बताए । मङ्सिर ९ गते बिहान ११ बजे उद्घाटन समारोह रहेको र उक्त दिनको ३ बजे स्थानीय स्तरमा तयार बनाइएको थाहा वृत्तचित्र प्रदर्शन गरिने उनको भनाई छ । उद्घाटनमा प्रदर्शनका लागि आयोजकले वृत्तचित्र समेत छायाङ्कन गरी निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए ।
फिल्म फेस्टिभलमा नेपाली कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्रहरू प्रदर्शन गर्ने क्रममा थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि स्थानीयपन झल्काउने वृत्तचित्र तयार पारिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्